काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सबैभन्दा बढी रोजगारी सिर्जना निजी क्षेत्रले गरिरहेकाले आवश्यक प्रोत्साहन र सम्मानका लागि सरकार सदैव तयार रहेको प्रतिबद्धता जनाएका छन्। श्रम,रोजगार सम्मेलन २०८१ लाई सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले सरकारी जागिरका लागि वर्षौसम्म कुर्नुपर्ने स्थीति रहेका बेला निजी क्षेत्रले बढी रोजगारी सिर्जना गरी गरेको भन्दै प्रोत्साहन गर्न आवश्यक रहेको बताए।
एउटा कर्मचारी खाली भएपछि अर्को भर्नाका लागि महिनौ समय लाग्ने र एउटा मात्र खाली हुने वित्तिकै लोकसेवा आयोगले भर्ना नगर्ने भएकोले सरकारी जागिर खान निकै समस्या हुने गरेको उनको भनाइ छ। ‘निजी क्षेत्रमा जति धेरै रोजगारी सिर्जना गर्न सक्यो उतिनै फाइदा हुने भएकोले सधै अग्रसर भएर लागेको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि निजी क्षेत्रलाई सधै साथ दिन सरकार तयार छ।’
निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्नका लागि आवश्यक नीतिगत निर्णयलाई व्यवहारीक बनाउन सरकार सदैव तयार रहेको उनको दाबी छ। मुलुकभित्रै रोजगारी सिर्जनाका लागि उद्यमशीलताको आवश्यक पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्यम गर्ने वातावरण सरकारले निर्माण गरिदिने प्रतिबद्धता समेत जनाएका छन्।
प्रत्येक वर्ष ४ देखि साढे ४ लाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई टिकाइरहनका लागि आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रको ठूलो भूमिका रहेको उनले बताए। हाल मुलुक भित्र ८६ प्रतिशत रोजगारी सिर्जना निजी क्षेत्रले नै गरिरहेकोले निजी क्षेत्र मैत्री नियम कानुन बनाउन सरकार सदैव अग्रसर भइरहेको उनको भनाइ छ।
उत्पादनवृद्धिका लागि लगानीवृद्धि अनिवार्य हुने भएकोले बैंक तथा वित्तिय संस्थालाई पनि उद्यमशीलता गर्नेहरुका लागि सहजीकरण गरिदिन उनले अनुरोध गरेका छन्। पछिल्लो समय केहि बैंकहरुले निजी क्षेत्रलाई दुःख दिइरहेको सुनेकोले जसलाई समस्या परेको छ तीनिहरुलाई सहज गरेर अगाडी बढ्न उनले निर्देशन समेत दिएका छन्।
धेरै नेपालीले विदेश बनाए अब नेपालनै बनाउने बेला भयो
प्रधानमन्त्री ओलीले नेपालीहरुले विदेशमा गएर श्रम गरेकै कारण विकसित मुलुक बनाएको स्मरण गर्दै अब नेपालमै काम गर्ने वातावरण बनेको बताए। ‘हाम्रा नेपालीहरु गएर कतार, दुवई, मलेसिया र कोरियाको विकास गरिसक्नु भयो, अब आफ्नै मुलुकपनि बनाउने बेला भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने ‘मुलुक भित्रै खानीहरु सञ्चालन गर्न लागिएको छ, अब फर्कनुस् नेपाल बनाउनुपर्छ।’
फलाम खानी, पेट्रोलियम पदार्थको खानी भएको पुष्टी भइसकेकोले अब कच्चा पदार्थको रुपमा विदेशबाट महंगो शुल्क ल्याउनुपर्ने बाध्यता अन्त्य हुन लागेको उनको दाबी छ। खानी सञ्चालनपछि कच्चा पदार्थ उत्पादनसहितका कामहरु गर्नका लागि ठूलो संख्यामा रोजगारी सिर्जना हुने स्थिति आउने भएकोले केही समय धैर्य गरेर सिपमुलक तालिम लिएर तयार हुन सबै युवाहरुलाई उनले आग्रह गरेका छन्।
