अहिले हामी रोजगारीको कुरा गरिरहेका छौं। तर, हामी श्रम र रोजगारीलाई छुट्याएर हेर्नुपर्छ भन्ने पक्षमा छौं। श्रम गर्ने अवसर सबैले पाउनुपर्छ जुन नागरिकको मौलिक हक हो। श्रम मर्यादित हुन्छ÷हुँदैन, उत्पादनमूलक हुन्छ÷वा हुँदैन, त्यसले पाउने ज्याला उचित हुन्छ÷हुँदैन भन्ने विषय श्रमबजारसँग सम्बन्धित छ। तर, हामीले अरुका लागि गर्ने काम श्रम हो र आफ्ना लागि गर्ने काम श्रम होइन भन्ने मान्यताबाट माथि उठ्न आवश्यक छ।
श्रम सबैले गर्ने विषय हो, जसलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो। अहिले हामी बेरोजगारीको कुरा त गर्दै छौं तर आगामी दस वर्षपछिको स्थिति के हुन्छ भनेर पनि हेर्न आवश्यक छ। मैले आकलन गर्दा पनि आगामी दस वर्षमा केही नयाँ वातावरण तयार हुने देखिन्छ। जनसंख्या श्रमको आधार हो। मानिस निश्चित समयपछि श्रमका लागि योग्य हुन्छ। यसर्थ, हामीले मानिसलाई ज्ञान सीप दिएर प्रविधियुक्त बनाए सो वर्ग जनशक्ति हुन्छ।
हामीले जनशक्ति तयार गर्न जन्मनुभन्दा अगाडिदेखि जन्मेर ठूलो हुँदासम्म जुन किसिमको लगानी गर्छौं, जसलाई पुँजी निर्माण काल भनिन्छ। आगामी दस वर्षको मार्गचित्रमा राखेर यी कुरालाई हेरे हामीले सही लय पक्रन सक्छौं। अहिलेको जनसंख्याको वृद्धिदर एक प्रतिशतभन्दा कम छ। दुई दम्पती मिलेर हामीले दुई वटा बच्चासमेत जन्माउन नसकेको स्थिति छ। प्रतिदम्पती १.९ प्रतिशत बच्चा मात्रै जन्माएको अवस्था छ। यसले हाम्रो जनसंख्या प्रतिस्थापन दरभन्दा तल गइरहेको देखाउँछ।
अहिले युरोपेली मुलुक, जापान, कोरियादेखि चीनसमेत घट्दो जनसंख्याको चापमा छन्। यस्तो अवस्थामा अहिलेको बेरोजगारीको स्थिति तथा काम अभावका अवस्थालाई हामीले सम्बोधन गर्नैपर्ने हुन्छ। यसका अलावा, दीर्घकालमा पनि हामीले जनसंख्या वृद्धिदरलाई कम्तिमा प्रतिस्थापन दरमा राखेनौं भने हामी विकासको एउटा चरणमा नपुग्दै वृद्धहरुको देश मात्रै बन्न सक्छौं। यसकारण पनि यी विषयमा हामी सजक हुन जरुरी देखिन्छ।
अहिले हामीसँग रहेको जनसांख्यिक लाभ लिने काममा हामी अग्रसर हुन सक्नुपर्छ। हाम्रो सम्पूर्ण जनसंख्याको ६५.२ प्रतिशत मानिस आर्थिक रुपमा सक्रिय छन्। यो जनसंख्या दुई करोड भन्दा माथि रहेको छ। यो जनसंख्या कुनै न कुनै आर्थिक गतिविधिमा जोडिएर पछि बुढेसकालामा थेगिन सक्ने वातावरण तयार गर्ने काम हामीले गर्नुपर्दछ। अन्यथा, हामी बुढ्यौली जनसंख्या र अर्धविकासको जोखिममा पर्ने मैले देखेको छु।
अहिले हाम्रो शिक्षाको अवस्थामा सुधार आएको छ। आजभन्दा २५ वर्ष अगाडि औषत विद्यालयमा पढ्ने मानिसले ४ वर्ष मात्रै पढ्ने गर्दथे। अर्थात्, कुनै विद्यालयमा चार वर्ष पढेपछि मानिस त्यसलाई निरन्तरता दिँदैन थिए। आज औषत विद्यालयको पढाइ वर्ष ९ पुगेको छ। हाम्रो विद्यालय जाने उमेरको ठूलो संख्या दस कक्षासम्म पढ्ने भएको छ। साक्षर जनशक्तिको ३० प्रतिशत मानिस माध्यामिक तहभन्दा माथि पढ्ने भएका छन्।
हाम्रो शिक्षामा देखिएको सुधारले रोजगारीमा जान सक्ने मानिसको संख्या बढेर गएको छ भने सीपयुक्त पनि भएको छ। हाम्रो स्वास्थ्य स्थितिमा पनि बर्सेनि सुधार आउँदै गएको छ। बाल स्वास्थ्यदेखि मातृस्वास्थ्यमा पनि निकै सुधार आएको छ। श्रमिकको स्वास्थ्य पनि राम्रो भएकाले भोली हाम्रो श्रम बजारमा प्रवेश गर्ने मानिस शिक्षित र स्वस्थ हुने आशा हामीले गर्न सक्छौं। अबको तीन दशकमा देशले यस किसिमको श्रमिक पाउने भएकाले त्यो श्रम वर्गलाई कसरी उपयोग गर्ने भन्ने हाम्रो आगामी चिन्ता र सामूहिक मननको विषय बनेको छ।
तत्कालै हेर्दा श्रम बजारमा केही द्विविधापूर्ण कुरा देखिन्छन्। श्रम बजारमा श्रम शक्तिको प्रवेश उल्लेख्य छ। अहिले हामीले १५ देखि १९ वर्ष उमेर समूहका मानिसको संख्या हेर्ने हो भने करिब–करिब ३० लाख रहेको देखिन्छ। अब यी मानिसमध्ये कमसे कम ६ लाख व्यक्ति श्रम बजारमा प्रवेश गर्छन्। अहिले ६० देखि ६४ वर्ष उमेरको जनसंख्या दस लाख हाराहारी छ। कम्तीमा वार्षिक दुई लाख मानिस श्रम बजारबाट निस्किन्छन् भन्ने आकलन हामी गर्न सक्छौं।
आगामी दस वर्षको मार्गचित्रमा राखेर यी कुरालाई हेरे हामीले सही लय पक्रन सक्छौं। अहिलेको जनसंख्याको वृद्धिदर एक प्रतिशतभन्दा कम छ। दुई दम्पती मिलेर हामीले दुई वटा बच्चासमेत जन्माउन नसकेको स्थिति छ। प्रतिदम्पती १.९ प्रतिशत बच्चा मात्रै जन्माएको अवस्था छ। यसले हाम्रो जनसंख्या प्रतिस्थापन दरभन्दा तल गइरहेको देखाउँछ।
यदि, यसो भए बर्सेनि चार लाख मानिस श्रम बजारमा थपिन्छन्। तर, चार लाखलाई रोजगारी दिन सक्ने स्थिति रहँदै गर्दा पनि अहिले हामीसँग बेरोजगार छन् भन्ने विषय हेर्नुपर्दछ। पूर्ण र अर्धबेरोजगार गरी निकै ठूलो जनसंख्या बेरोजगारी अवस्थामा छ। यो किसिमको अवस्थाले वैदेशिक रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यात्मक स्थिति आगामी दिनमा पनि रहने देखिन्छ। यसमा हामीले काम गर्नुपर्ने हुन्छ।
यदि, हामीले वैदेशिक रोजगारीमा जाने मानिसलाई तत्कालै रोक्छौं भनेर सोच्ने हो भने बर्सेनि २० लाख रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ, जुन हामी सक्दैनौं। हाम्रो यो किसिमको क्षमता छैन। तथापि, वैदेशिक रोजगारीलाई मर्यादित, प्रभावकारी बनाउने र वैदेशिक रोजगारी गरेर फर्किएका मानिसको सीपलाई श्रम बजारमा आबद्ध गर्ने काममा लाग्नुपर्दछ। श्रम मन्त्रालयले श्रम सम्झौता गर्दा वैदेशिक रोजगारीमा गएका मानिसको सामाजिक सुरक्षाको विषयलाई प्रत्याभूती दिनुपर्ने आवश्यक्ता छ।
हामीले एक दशकलाई रोजगारी दशकको रुपमा मनाउँदै गर्दा यसअवधिपछि भने बाहिर श्रमका लागि कोही पनि जान नपर्ने स्थिति सिर्जना गर्न सकिन्छ। रोजगारी सिर्जनाको मुख्य श्रोत आर्थिक वृद्धि भएकाले हामीले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दा माथि लग्न जरुरी छ। हाम्रो वित्तीय क्षेत्रको स्रोत-साधनलाई काम र रोजगारी सिर्जना हुने क्षेत्रमा लगाउन सक्नुपर्छ। हाम्रो सामुदायिक र सहकारी संस्थाहरुलाई पनि रोजगारीको क्षत्रमा अग्रसर गराउनुपर्छ।
अर्कोतर्फ निजी क्षेत्रले पनि रोजगारी सिर्जनाको काम गर्ने र नेपाल सरकारले सघाउने काम गर्नुपर्छ। अहिले हाम्रो श्रमिकको ज्यालादर निकै कम छ। अहिलेको स्थितिमा एउटा श्रमिकले वर्षको साढे तीन लाख आम्दानी गर्न सकेन भने उसले आफ्नो परीवारलाई गरिबीको रेखामाथि उठाउन सक्दैन। अहिलेको औषत वार्षिक ज्याला डेढ देखि दुई लाख हाराहारी मात्रै रहेको देखिन्छ। यसलाई उत्पादकत्वसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ। ज्याला पनि कम भएको र उत्पादन पनि कम भएको स्थितिमा रोजगार दातालाई ज्याला दिन कठिन हुने गर्दछ।
उत्पादकत्व नबढाउने, प्रविधि प्रयोग नगर्ने, सीप हस्तान्तरण नगर्ने गरेमा हामी यसको चक्रमा पुनः फस्न सक्दछौं। हामीले न्यूनतम ज्याला निरन्तर बढाएका छौं। पछिल्लो चार वर्षमा उपभोक्ता मूल्यसूची करिबकरिब २५ प्रतिशतले बढेको पाइन्छ भने यसै अवधिमा ज्यालाको स्तर पनि २५ प्रतिशतले नै बढेको देखाउँछ। नेपाल राष्ट्र बैंकको तथ्यांकमा हामी यो स्थिति पाउन सक्छौं। यसले यथार्थ ज्यालामा ह्रास नभएको र वृद्धि पनि नभएको देखिन्छ।
तर, यसरी ह्रास नआए पनि वृद्धि नहुँदा मानिसको आवश्यक्ताअनुसार नपुग्ने हुन्छ। यसलाई हामीले उत्पादकत्वसँग जोडेनौं भने निर्यात गर्ने क्षमता कमजोर हुने र थप आयात मात्रै गर्नपर्ने स्थितिमा पुग्ने निश्चित छ। यसर्थ, उत्पादकत्व र ज्यालाको विषयलाई हामीले सँगैसँगै अगाडि बढाउनुपर्ने हुन्छ। नेपालको ८५ प्रतिशत श्रम बजार अनौपचारिक हो। अनौपचारिक श्रम बजार पनि कृषिमा सबैभन्दा बढी छ भने निर्माण, घरेलु काम धेरैमा छ।
घरेलु काममा ज्याला कम छ भने घरेलु हिंसा हुने स्थिति पनि छ। यसमा कहिलेकाहीँ बालश्रमको विषय पनि उठ्छ। घरेलु काममा मात्रै नभएर यातायात, उद्योगमा पनि बालश्रमको विषय उठेको छ। धेरै प्रयास गर्दा पनि बालश्रम पूर्णरुपमा निर्मूल हुन सकेको छैन। धेरै पालिकाले बालश्रममुक्त पालीका घोषणा गरेको पाइए पनि त्यहाँसमेत बालश्रम हुने गरेको देखिएको छ। यद्यपि, घरायसी सरसहयोग गर्ने कुरालाई भने हामीले यसभित्र राख्नु हुँदैन भन्ने बुझाइ हाम्रो छ।
घरेलु काममा महिलाको सहभागिताको विषय पनि छ। महिलाले गरेको कामलाई काममा गणना नगरेको देखाएर बेरोजगारको तथ्यांक आउन सक्दछ। तर, त्यो कामलाई मौद्रिकीकरण गर्ने हो भने त्यसको पनि ठूलो योगदान छ। त्यो कामलाई बेरोजगार भनेर मूल्यांकन गरे अन्याय हुन्छ। अहिले नेपालमा ८५ लाख विद्यार्थी विद्यालय शिक्षामा छन्। यसमध्ये अधिकांश साधारण शिक्षामा छन्। उच्च शिक्षातर्फ हेर्ने हो भने करिब ८० प्रतिशत विद्यार्थी मानवीकी, व्यवस्थापन, शिक्षा संकायमा छन्।
बाँकी २० प्रतिशत विद्यार्थी मात्रै चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधिको क्षेत्रमा छन्। हामी प्रविधिको युगामा प्रवेश गरे पनि अत्यन्त न्यून मानिस यस क्षेत्रमा गएको देखिन्छ। विद्यालय क्षेत्रमा नै आईटीमा कम मानिस आकर्षित भएकाले उच्च शिक्षामा यस्ता मानिस आकर्षित हुने सम्भावना कम छ। यसर्थ, अब हामीले युग सुहाउँदो जनशक्ति तयार गर्ने काममा लागेनौं भने भोलीका दिनमा थप समस्यामा पर्ने देखिन्छ।
अहिले स्वास्थ्य क्षेत्रमा थप जनशक्ति, कृषि विज्ञ, औद्योगिक क्षेत्रका विज्ञ चाहिएको छ। अहिले प्रविधिक शिक्षा लिने विद्यालयमा पनि भर्ना गर्न नसकेको अवस्था छ। शिक्षामा पनि भर्नाकै स्थितिदेखि हामीले हाम्रो नीतिगत कदम चाल्दै जानुपर्ने देखिएको छ। शिक्षालाई सही ढंगमा प्रयोग गर्न नसकेको खण्डमा हामी फेरि, बेरोजगारीको पाटोमा नै फस्ने निश्चित छ। उद्यमशीलताका लागि शिक्षा मात्रै पर्याप्त हुँदैन। पुँजी वा सीप भएर मात्रै पनि हुँदैन।
उद्यमशील हुन जोखिम लिने आँट हुनुपर्दछ। यो किसिमको क्षमता विकास गर्नलाई सहयोगी भूमिका सबैको हुन्छ। यस्तो उद्यमशील नागरिकले लिने जोखिमका विषयमा हामीले प्रोत्साहित गर्ने र जोखिम बाँड्ने काम गर्न सक्छौं। उद्यमीको स्वास्थ्य बिमा, व्यवसायको बिमाजस्तै उद्यमको जोखिम बाँड्न सके उद्यमीलाई अगाडि बढ्ने प्रेरणा मिल्दछ। यसतर्फ जान हामीले थप काम गर्नुपर्ने आवश्यक्ता छ।
(खतिवडाबाट राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा व्यक्त विचार)