काठमाडौं। पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजदेखि भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि सुरु भएको दुईदिने सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे।
‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु भएको सम्मेलनमा तीनवटै सरकारका प्रतिनिधि सहभागी छन्।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवालगायत गरी करिब ५०० सहभागी छन्।
स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइएको छ।
सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दसवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले बताए।
श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएका बेला आयोजित सम्मेलनले रोजगारी सिर्जनामा सघाउने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले २०५४ मा पहिलोपटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो।
सम्मेलनमा प्रधानमन्त्रीसहित श्रममन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडालगायत सहभागी छन्।