काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघु वित्त संस्थाबाहेक)ले ७ महिनामा करिब ४० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। चालु वर्षको माघ महिना बैंकहरुले कुल ३९ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख, विकास बैंकहरुले ३ अर्ब ४४ करोड २३ लाख र वित्त कम्पनीहरुले २८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
समीक्षा अवधिमा नाफा कमाउनेको पहिलो स्थानमा नबिल बैंक पर्दा एनआईसी एशिया सबैभन्दा कम नाफा कमाउने बनेको छ। चालु वर्षको ७ महिनामा नबिल ४ अर्ब १ करोड, दोस्रोमा ग्लोबल आईएमई ३ अर्ब ८९ करोड र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
उक्त अवधिमा एभरेष्ट, नेपाल, एनएमबि र प्राइम बैंकले २ अर्ब बढी २ अर्ब ५७ करोडसम्म खुद नाफा कमाउँदा स्ट्याण्र्ड चार्टर्ड, प्रभु, लक्ष्मी सनराइज, हिमालयन, सानिमा, राष्ट्रिय वाणिज्य र नेपाल एसबिआई बैंकको नाफ एक अर्बमाथि २ अर्बभन्दा कम रहेको छ।
साथै, उक्त अवधिमा माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास र कुमारी बैंकको खुद नाफा ५० करोड रुपैयाँमाथि १ अर्ब रुपैयाँसम्म हुँदा एनआईसी एशियाले भने सबैभन्दा कम ४९ करोड ४७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।
यता, विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले ३३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाउँदा सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकले २० लाख रुपैयाँ मात्रै कमाएको छ। साथै, सो अवधिमा वित्त कम्पनीतर्फ सबैभन्दा बढी आईसिएफसी फाइनान्सले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
