काठमाडौं। नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आजदेखि औपचारिक रुपमा 'हामी सक्छौँ' भन्ने मूल नारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। ‘युवाहरु स्वदेशमा रोजगार नपाएर विदेश गइरहेका छन्,’ थापाले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रुपमा पहल गर्छौं।’
श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरु दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरु विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ,’ थापाले भने, ‘कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षाअनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’
कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता थियो। कांग्रेस महामन्त्री शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए।
‘विगतमा पनि काम भइरहेको थियो,’ शर्माले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ।’ रोजगारी सृजना र उद्यमशीलतालाई सँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ।
अभियानअन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामुहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ।