काठमाडौं। लाजिम्पाटको र्याडिसन होटलमा पनि सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ। अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताएका छन्।
सन २००६ देखि होटल तथा पर्यटन क्षेत्रका मजदुरले पाउँदै आएको सेवा शुल्कलाई विं.सं.२०७९ माघ ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेदेखि संगठनले पुनः प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै आइरहेको संगठनका इन्चार्ज माधव पाण्डेले बताए।
पछिल्लो समय संगठनको नतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न होटल तथा रेष्टुरेन्टमा जागरण अभियान चलाइरहँदा होटल र्याडिसनमा पनि मजदुरले सो संघर्ष तथा जागरण अभियान सुरु गरेका छन्।
र्याडिसनको उक्त कार्यक्रमलाई केन्द्रीय अध्यक्ष कुमार पन्तले चैत १ गतेबाट माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सबै मजदुरलाई सहभागी हुन आह्वान गरेका छन्। पन्तले आन्दोलन सरकार वा होटल सञ्चालकविरुद्ध नभई मजदुरहरुको गुमेको अधिकार पुनस्थापित गर्न भएको प्रष्ट्याउँदै भने, “यो वर्ष श्रमिकहरुले अधिकार प्राप्तिको लागि संघर्षको वर्ष हो, किन भने श्रम ऐन संशोधन हुँदैछ, त्यसमा हाम्रो दबाब पुग्न जरुरी छ।”
संगठनका केन्द्रीय सचिव अमृता सापकोटाले अदालतले खारेज गरे पनि कानुन बनाएर गुमेको अधिकार पुनः प्राप्ति गर्न सकिने जनाउँदै, त्यसका लागि मजदुरहरुले दबाब दिन जरुरी रहेको धारणा राखिन्।
संगठनका केन्द्रीय कोषाध्यक्ष तथा र्याडिसन होटल इकाई समिति अध्यक्ष राम पन्तले आफूहरु कर्यारत होटल र्याडिसनमा सेवाशुल्क खारेजीपछि मजदुरहरु थप पीडामा रहेकोले सबैलाई संघर्षमा उत्रन निर्देशन दिए। संगठनका केन्द्रीय सदस्य तथा र्याडिसन इकाई सचिव रामहरी भण्डारीले सेवाशुल्क खारेजीपछि आफूहरुको दैनिक जीवन गुजारा गर्न पनि कठिन भएकाले जसरी पनि पुनः प्राप्ति गर्नुपर्ने बताए।
माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) निकट नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका र्याडिसन इकाई समिति अध्यक्ष विसन सिंह धामीले सो जागरण अभियानमा ऐक्यबद्धता जाहेर गर्दै आफूहरु पनि संघर्षमा उत्रने बताए।