काठमाडौं। नेपाल स्टक एक्सचवेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि १० जनाले आवेदन दिएका छन्। नेप्सेका अनुसार फागुन २५ गतेसम्ममा पाँच जनाको आवेदन परेको हो।
आवेदन दिनेमा पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाई, विमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बस्याल र मुकन्द राज जोशी रहेका छन्।
पहिलो आवेदन खुलाएपछि सिईओ छनोट समितिले सात दिन म्याद थप गरेको थियो। जसअनुसार फागुन २५ सम्म आवेदन दिन सक्ने ठाउँ थियो। यसअघि फागुन १२ देखि १८ सम्म आवेदन दिन पाइने व्यवस्था थियो। सिफारिस समितिले पुनः म्याद सात दिनका लागि लम्ब्याएको थियो।
नेप्सेको सीईओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ।
साथै, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था छ।
नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले गत साता छनोट समिति गठन गरेको थियो। उपप्रधान एवं अर्थमन्त्री स्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन्। तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ।