२०६३ मा विधिवत् अन्त्य भएको २५० वर्षको राजशाही फिर्ता ल्याउन माग गर्दै पूर्वराजा समर्थक दल राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा एन्ड राजेन्द्र लिङ्देन कम्पनीले हजारौं जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रमाथि धावा बोल्ने दुस्साहस गरेका छन्।
लोकतन्त्रमा जनताबाटै निर्वाचित केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालहरुले राज्य संयन्त्रलाई बिचौलियामा परिणत गरे पनि व्यवस्था परिवर्तनको नारा कुनै पनि हालतमा नेपाली जनताले स्वीकार्दैनन्। राजनीतिक दलका नेताहरूकाे अक्षम शासनकाे रिस फेर्ने नाममा लाेकतन्त्रकाे विकल्प राजतन्त्र हुनै सक्दैन।
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेर हिन्दु धर्मको ब्यानरमाथि जनताबाट फ्याँकिएको राजतन्त्र पुनःस्थापनाको मागले लोकतन्त्रमाथि धावा बोल्दा पनि राज्य संयन्त्र कडाइमा नजानु झनै उदेकलाग्दो छ।
नेपाली कांग्रेस र कम्युनिस्ट विचारधाराको ट्याग लागे पनि सत्तारुढ नेकपा एमालेहरुको लोकतन्त्रका लागि आठ दशकदेखिको योगदान नेपाली जनताले भुलेका छैनन्। भलै, लोकतन्त्रको नाममा राज्य संयन्त्रलाई बिचौलियामा परिणत गर्ने कांग्रेससहितका दलहरु यसमा दोषभागी भने हुनैपर्छ। जनताले लोकतन्त्रका लागि कांग्रेस÷एमालेहरुलाई रुचाएका हुन्।
जनताका पीरमर्का र सुशासन नदिएर लोकतन्त्र÷प्रजातन्त्रलाई दुरुपयोग गर्नेमाथि लगामचाहिँ लगाउनैपर्छ। यसको सर्वोत्तम विधि भनेको निर्वाचन नै हो। कांग्रेस, एमाले अनि १७ वर्षसम्म हिंसात्मक बाटो रोजेर संसदीय शासनव्यवस्था अँगालेको आएको नेकपा माओवादी केन्द्रसमेत लोकतन्त्रका लागि नै भिडे/लडेको हो।
लोकतन्त्रलाई घुसतन्त्र र बिचौलियामा परिणत गर्ने अनि जनता नहेर्ने शासनविरुद्ध भने जनताले खबरदारी गरिरहनुपर्छ । सामन्ती र प्रजातन्त्रविरोधी शासन व्यवस्थाका पृष्ठपोषकहरुको राजा ल्याउने हर्कतविरुद्ध जनता जाग्नुपर्छ भने राज्य प्रशासनले कडाइ गर्नैपर्छ।