काठमाडौं। भरखरै खुलेको दुई वटा पाँचतारे होटल हिल्टन र मक्यूरसँगै अल्फटबीच प्राइसवार सुरु भएको छ। काठमाडौंको नक्सालमा रहेको हिल्टन, सुकेधारमा सञ्चालित मक्यूर र ठमेलमा रहेको अलफ्ट होटलबीच ग्राहकलाई आक्रषण बनाउन मूल्य घटाउन थालिएको हो।
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र पाँचतारे होटल सञ्चालनमा प्रतिस्पर्धा भइरहेको बेला ग्राहकलाई सस्तो मूल्यमा आकर्षक प्याकेज दिएर लोभ्याउन थालिएको हो। आफ्नो होटलमा ग्राहकलाई तान्ने प्रयासमा अहिले तीन होटल लागिपरेका छन्। होटल हिल्टन र मक्यूरले सस्तोमै कोठाहरु दिन थालेका छन्। त्यसैगरी पुरानो अल्फ्टले पनि सोही मूल्यमा कोठा उपलब्ध गराउँदै आएपछि अन्य होटल दबाबमा पर्न थालेको सञ्चालकको गुनासो छ।
अहिले विभिन्न ट्राभल एजेन्सीहरुलाई आफ्नोमा ग्राहक ल्याउन विभिन्न सुविधाहरु दिने गरिएको सञ्चालकहरुको भनाइ छ। केही दिनअघि मात्र एउटा ग्रुपलाई आफ्नो होटलमा तान्नका लागि मूल्य घटाएको घटना रोचक छ। एक ट्राभल एजेन्सीका अनुसार ती ग्रुपलाई आफ्नोमा तान्नका लागि एकपछि अर्को गरी मूल्य घटाउने प्रतिस्पर्धा नै चलाएका थिए।
नयाँ होटल हिल्टन र मक्यूरले सस्तोमै कोठाहरु दिन थालेका छन्। त्यसैगरी पुरानो अल्फ्टले पनि सोही मुल्यमा कोठाहरु उपलब्ध गराउँदै आएपछि अन्य होटलहरु दबाबमा पर्न थालेको सञ्चालकहरुको गुनासो छ।
जसमा मक्यूर, हिल्टन र अलफ्टबीच सस्तो मूल्यमा रुम रेट लिएर बेलुकाको खाना र बिहानको खाजासमेतको अफर दिइएको जनाएको छ।
‘तीन होटलबीच प्राइसवार चलेकाे छ,’ ती एजेन्सीका प्रतिनिधिले भने, ‘कसले सस्ताे दिने भएर हाेडबाजी चल्छ। अहिले दैनिक जसो होटलमा बस्ने ग्राहकलाई मूल्य घटाएर प्रस्ताव पठाउने गरिएको होटल एसोसिएन अफ नेपाल(हान)का एक पदाधिकारीले जानकारी दिए। ‘मूल्य घटाएर आफ्नोमा ग्राहक तान्ने प्रचलन पुरानै हो,’ ती पदाधिकारीले भने, ‘ट्राभल एजेन्सीहरु पनि अहिले बाठो भइसके सबै होटलमा बार्गेनिङ गर्दै कसले सस्तोमा दिन्छ त्यहाँ पठाउन लागेका छन्।’
अर्बौ रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको पाँचतारे होटलले यसरी मूल्य घटाघट गरेर कोठाहरु बिक्रि गर्दा आफुहरु मात्र हैन अन्य होटललाई समेत समस्या पारिरहेको ती पदाधिकारीको भनाइ छ। ‘होटल संघमा बेला बेलामा प्राइसवारको बारेमा कुरा चलेपनि खुला अर्थतन्त्र भएको मुलुकमा सिन्डिकेट लगाउन मिल्दैन,’ ती पदाधिकारीले भने, ‘भन्ने बेलामा अस्वस्थ्य प्रतिस्पर्धा गर्दैनौं भन्नु हुन्छ, त व्यवहारमा उल्टो हुन्छ।’
यद्यपि, तीन वटै हाेटल सञ्चालकहरुले आफूहरुले १२० डलर तल रुम बिक्री नगरेको बताए। बजारमा चर्को प्रतिस्पर्धा रहे पनि सस्तामा रुम बिक्री नगरेको दाबी गरेका हुन।
ग्राहकलाई फाइदै फाइदा
होटलबीचको प्रतिस्पर्धाको कारणले ग्राहकलाई भने फाइदै फाइदा भइरहेको छ। ७० डलरमै पाँचतारे होटलमा कोठा पाएपछि चारतारे र तीनतारे होटलमा बस्न जानेहरुको संख्या घट्दै गएको जनाएको छ। यस्तै,पुराना पाँचतारे होटल समेत समस्यामा पर्दै आएका छन्। नयाँ होटलमा सञ्चालन खर्च समेत कम हुने भएकोले सस्तोमा कोठा बेच्दा बैंकको ऋण तिर्न सहज हुने अनुमान गएको उल्लेख गर्दै व्यवसायीहरुले पुरानोलाई त्यसबाट उम्कन नमिल्ने बताएका छन्।