काठमाडौं। फागुन २ गते २६७८.४७ विन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ कारोबार लगातार बढ्दै २१२ अंकको वृद्धिको साथ फागुन १८ मा २८९०.२८ विन्दुमा पुग्यो।
त्यसपछि लगातार चार कारोबार दिन घटेको बजार ७२ अंकको गिरावटका साथ फागुन २२ मा आइपुग्दा २८१८ विन्दुमा खुम्चिएको छ। नेप्से हाल २८०० विन्दुमा रहे पनि फागुन १९ गते सोमबार २९२९.२१ विन्दुसम्म पुगेको थियो।
फागुन १३ गते नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो। त्यसअघिका ७ कारोबार दिन लगातार बढेको नेप्से मौद्रिक नीति समीक्षापछि फागुन १५ मा ४९ अंक र फागुन १८ मा ७५ अंकले बढ्यो।
फागुन १८ पछिको तीन कारोबार दिन नेप्से लगातार दोहोरो अंकले घटे पनि गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २.७० अंकले मात्रै घट्यो। बिहीबार नेप्से केही सम्हालिने कोशिस गर्दै रोकिएको छ।
बजार तीव्र गतिमा उकालो चढ्दा गिरावट पनि सोही गतिमा हुने भएकाले करेक्सन आउँदै बढेको बजार दिगो हुने तर्क लगानीकर्ताको छ।
गत साता करेक्सन नआएको भए नेप्से तीन हजार विन्दुमाथि पुग्ने अपेक्षा गर्न सकिन्थ्यो। तर, बजारले २९ सय विन्दुमाथि पुगेर फर्कदै यस विन्दुलाई थप परीक्षण गरेको दखिन्छ। यसलाई कतिपय लगानीकर्ताले बजार मजबुद बनेको तर्क पनि गरिरहेका छन्। बजार तीव्र गतिमा उकालो चढ्दा गिरावट पनि सोही गतिमा हुने भएकाले करेक्सन आउँदै बढेको बजार दिगो हुने तर्क लगानीकर्ताको छ।
समग्र वित्तीय सूचक र माहोल सकारात्मक रहेकाले करेक्सन आउँदै बजार उकालो लाग्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। ‘समग्र बजार अवस्था र सूचक हेर्दा पनि उतारचढाव र तलमाथि हुँदै नेप्से माथि जाने देखिन्छ,’ अध्यक्ष ढकालले भने, ‘पछिल्लो दुई सातादेखि १० अर्ब माथिको कारोबार प्रत्येक दिन भइरहेकाले कारोबार रकमले पनि नेप्से माथिल्लो विन्दुमा जाने संकेत देखाइरहेको छ।’
उनले बजारमा फसेर बसेका लगानीकर्तादेखि संस्थागत लगानीकर्ता पनि प्रवेश गरेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। बैंकमा ब्याजदर कम पाउने र तुरुन्तै लगानी गरेर नाफा कमाउन सक्ने अन्य क्षेत्र पनि खासै नभएको स्थितिमा सेयर बजारप्रति लगानीको बाटो खुला रहेको तर्क उनको छ। यसका अलावा बजार अझै न्यून विन्दुमा रहेकाले सूचक थप माथिल्लो विन्दुमा हुनुपर्ने ढकाल बताउँछन्।
‘२०७८ मा नेप्से ३२ सय विन्दुसम्म पुगेको थियो। तर, यो बीचमा धेरै सेयर थपिएका छन्। धेरै कम्पनी सूचीकृत भएका छन्, राइट सेयर, बोनस सेयर थपिएका छन्। पुँजी पनि उतिकै मात्रामा थप भएका छन्,’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा नेप्से हालभन्दा धेरै माथि हुनुपर्ने हो। यी कारणले बजारले लय समाउने सम्भावना बढी देखाउँछ। यद्यपि, बजारले करिब लय पक्रिसकेको अवस्था छ।’
गभर्नर अधिकारीमाथि पुँजी बजारको हितमा नीति नल्याएको, कसिला नीति ल्याएर सेयर बजारलाई कमजोर बनाएको आरोप लाग्दै आएका छन्।
मौद्रिक नीति समीक्षाले बैंक तथा वित्तीय संस्थाको असलकर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारेकाले यसले करिब साढे ४ अर्ब रुपैयाँ नाफा बैंकिङ प्रणालीमा आउने र कर्जा क्षमता पनि ४० अर्बले बढ्ने ढकाल बताउँछन्। पछिल्लो तीन साताको कारोबारबाट हाल लगानीकर्ता पर्ख र हेराईको स्थितिमा देखिन्छन्। अर्कोतर्फ, हालका नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमन पनि बजारले कुरिरहेको तर्कहरू भइरहेका छन्।
गभर्नर अधिकारीमाथि पुँजी बजारको हितमा नीति नल्याएको, कसिला नीति ल्याएर सेयर बजारलाई कमजोर बनाएको आरोप लाग्दै आएका छन्। अधिकारीले २०७८ सालमा मौद्रिक नीतिमार्फत् पुँजी बजारलाई ठूलो प्रहार गरेकाले त्यो स्थिति पूर्णरुपमा सुधार नभएको बुझाई लगानीकर्ताको छ। विभिन्न समयमा नीतिगत सहजता ल्याउँदै गए पनि अझै धेरै विषय सुधार गर्न आवश्यक भएको विषय लगानीकर्ताले उठाउँदै आएका छन्।
सेयर धितो कर्जामा लगाइएको व्यक्तिगत तर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा सय प्रतिशत जोखिमभार कायम गरिदिनुपर्ने लगायतका विषयलाई केन्द्रीय बैंकले सम्बोधन गरेको स्थिति छैन। यसैले हालका गभर्नर अधिकारीले बजारलाई नबुझेको आरोप लाग्दै आएको हो।
यद्यपि, अब आउने गभर्नर नेपालको अर्थतन्त्र बुझेको र पुँजी बजारको हितमा काम गर्ने आउने अपेक्षा लगानीकर्ताले गरिरहेका छन्। पुँजी बजारलाई बुझ्ने गभर्नर आएको खण्डमा बजारले थप लय पक्रने विषय उठ्दै आएको छ। सकारात्मक खबर आउँदा बजार माथिल्लो विन्दुतर्फ यसै पनि बढ्दै गएको छ। मौद्रिक नीति समीक्षापछि गत साता सेयर कारोबारमा पनि निकै सुधारको स्थिति देखियो।
कारोबारले पनि राम्रै साथ दिइरहेको र नीतिगत रुपमा कठिनाइ नभएकाले बजार सकारात्मक हुने आंकलन लगानीकर्तामा देखिन्छ।
गत साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल ६१ अर्ब ४३ करोड बराबरको कारोबार भयो। अघिल्लो साताको चार कारोबार दिनमै नेप्से ४३ अर्ब २० करोड बराबरको कारोबार भएको थियो। कारोबारले पनि राम्रै साथ दिइरहेको र नीतिगत रुपमा कठिनाइ नभएकाले बजार सकारात्मक हुने आंकलन लगानीकर्तामा देखिन्छ।
हाल बैंकमा तरलता फालाफालको स्थितिमा छ। हिजोका दिनमा कर्जा लिँदा १३/१४ प्रतिशत ब्याज तिर्नुपर्नेमा आज ८ प्रतिशतको हाराहारी तिर्दा पुग्छ। यो ब्याजदरमा प्रयाप्त कर्जा प्राप्त गर्न सकिन्छ।
अर्कोतर्फ हिजोका दिनमा लगानीकर्ताले १२/१३ प्रतिशत ब्याज बैंकबाट पाएर सन्तुष्ट हुने ठाउँ रहेकोमा अहिले ५/६ प्रतिशत मात्र्र प्राप्त हुन्छ। ऋण लिनेलाई पनि सस्तो ब्याजदरमा कर्जा प्राप्त हुने र बचतकर्तालाई बैंकमा पैसा राख्दाभन्दा बजारमा लगानी गर्दा राम्रो हुने स्थिति देखिन्छ।