काठमाडौं। यती एअरलाइन्सले शनिबार एकै दिन सुर्खेत र धनगडी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन्।
यती एअरलाइन्सको ९एन एएमएन एटिआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिमको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो।
नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो १२ः१७ मा अवतरण गरेको थियो। नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।
परीक्षण उडानलाई एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए। उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाइन्सका प्राविधिक तथ प्रतिनिधिको टोली साथमा गएका थिए।
गत २० गते मंगलबार यती एअरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ। यतीले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो।
हाल यी विमानस्थलमा यतीले उडान गर्ने गरेको छैन। परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको छ।
यात्रुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाइनका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराज कुमार विष्टले जानकारी दिए।
उनले यी विमानस्थलमा हुने नियमित उडानसँगै यती एअरलाइन्सप्रतिको यात्रुको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गरे।
यती एअरलाइन्समा एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै आक्रामक बजार नीति लिएको, यात्रु सुविधाप्रति ध्यान दिएको र उडान सुरक्षाप्रति जिम्मेवारपूर्वक अघि बढेकाले यात्रुको विश्वास बढेको छ। एअरलाइन्स पुरानै लयमा फर्किसकेको छ।
यतीमा हाल यात्रुहरुको अकुपेन्सी दर ९० प्रतिशतसम्म रहेको छ। यतीले ७ वटा एटिआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडान गर्दै आएको छ। निकट भविष्यमा थप विमानमार्फत सेवा विस्तार गर्ने नीति लिएको छ।