काठमाडौं। लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज हाइड्रोपावरबीच कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ।
मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा लगानी सम्झौता सम्पन्न भएको हो। आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ।
परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७५ प्रतिशत लगानी प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट हुनेछ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सह–अगुवा बैंकहरूको रुपमा ग्लोबल आइएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रहेको छ।
यस्तै, हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआई बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड गरी कुल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ।
आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादनपछि वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ भने ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एउटा बन्नेछ।
आयोजनाले फागुन २७ मा विद्युत विकास विभागबाट विद्युत् उत्पादन अनुमति लिनुका साथै फागुन १७ मा विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ।
कम्पनीको मुख्य प्रवर्द्धकका रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन्।