काठमाडौं। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबारको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो।
हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको ४÷४ वर्षको दुई कार्यकाल पूरा गरी फागुन मसान्तमा सकिँदै छ।
घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध छन्। १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरे त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक हुन्।
उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन्। उनी एनएमबी बैंकमा २०७९ असोज ११ देखि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन्।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ। उपाध्याय पनि घिमिरेसँगै २०७९ असोजमा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए।
उपाध्याय विगत ९ वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन्।
उपाध्यायले सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करियर सुरु गरेका थिए। सन् २००९ सम्म ११ वर्ष स्टान्डर्ड चाटर्ड बैंक नेपालमा काम गरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक कतार र कतारकै मश्रेक बैंकमा करिब ६ वर्ष उनले काम गरे।
उनी सन् २०१५ मा एनएमबी बैंकको सिनियर म्यानेजरको रुपमा नियुक्त भएका थिए। बैंकको डेपुटी जनरल म्यानेजरको हुँदै नायब प्रमुख कार्यकारी अधिकृत र हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए उपाध्याय इन्टरनेसनल बैंकिङ, कर्पोरेट, बैंकिङ, एसएमई, रिटेल र ट्रान्जेक्सन बैंकिङमा विशेषज्ञ मानिन्छन्।