काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्युत् प्राधिकरण(एनईए)मा विवादित छविका व्यक्तिलाई भित्र्याउन तयार भएका छन्।
पारिवारिक दबाबको प्रभावमा परेर देउवा विवादै विवादमा फँसेका हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर अर्का विवादित व्यक्ति भित्र्याउन सहमत भएका हुन्।
कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरी नयाँ नियुक्त गर्ने बेलासम्म कुनै उलटपुलट नभए यसअघि विवादित छवि बनाइसकेका अर्जुन कार्की प्राधिकरण छिर्ने निश्चित भएको हो। कार्की उनै व्यक्ति हुन्, जसले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ट्रान्सफर्मर घोटाला, सहरी विकास सचिव हुँदा त्रिपाल र जस्तापाता घोटाला, यातायात सचिव हुँदा इम्बोस्ड नमबर प्लेटको ठेक्कामा घोटाला गरेका आरोप खेपेका छन्। यी आरोप अहिले पनि उनीमाथि लागिरहेको छ।
विगत १० वर्षदेखि जारी ट्रंक/डेडिकेटेड लाइन विवाद समाधान गर्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बनाएको सर्वाच्च अदालतका पूर्वन्यायाधीश गिरिषचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन निर्णयलाई कुलमानले अटेरी गर्दै आएका छन्।
आयोगले बनाएको प्रतिवेदनलाई लत्याउँदै उद्योग व्यवसायीलाई तर्साउने र लाइन काटेर जबर्जस्ती बक्यौता असुल्न खोज्ने गर्ने निजी क्षेत्रको मनोबल नै गिरेको सरकारको ठहर छ। लाल आयोगको प्रतिवेदनमा ट्रंक र डेडिकेटेड लाइन विवादमा टिओडी मिटरको प्रमाण दिएर मात्र उद्योगी व्यवसायीबाट बक्यौता रकम असुल्न सुझाव दिएको छ।
तर, कुलमानले टिओडी मिटर नदिई जबर्जस्ती रुपमा पुरानै विल पठाएर पटक–पटक उद्योगी व्यवसायीलाई लाइन काट्ने धम्की दिँदै आएका छन्।
कुलमानलाई हटाउने तयारीस्वरुप मन्त्रिपरिषदले स्पष्टीकरण सोधिसकेको छ। कुलमानले आइतबार स्पष्टीकरण बुझाउनेछन्। उनले बुझाएको स्पष्टीकरण चित्त नबुझे सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्न सक्नेछ।
कसरी भए देउवा तयार?
तत्कालीन अवस्थामा कुलमानलाई नहटाउने र उनीमार्फत नै ट्रंक÷डेडिकेटेड लाइनको विवाद मिलाउनुपर्छ भन्ने पक्षमा रहेका देउवा अन्तिम समय आएर कन्भिन्स भए। आखिर कसरी तयार भए भन्ने प्रश्न अहिले उठ्न थालेका छन्।
पटक–पटकको मन्त्रिपरिषद् बैठकमा स्पष्टीकरण सोध्ने हल्ला चले पनि निर्णय गर्न सकेका थिएनन्। मन्त्रिपरिषद्ले आँट नगर्नुको एउटै कारण थियो– देउवाको अनुमति नआउनु। अहिले देउवा पनि कुलमानलाई हटाउन तयार भएका छन्। उनी तयार हुनुमा साला भूषण राणाको दबाब भन्ने चर्चा सुरु भएको छ।
परराष्ट्रमन्त्री एवं देउवापत्नी आरजु राणाका भाइ भूषणको प्रवेशपछि देउवा घिसिङ हटाउन तयार भएको स्रोतको दाबी छ।
यसअघि दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका अर्जुन कार्कीले भूषण र प्रमोद राणालाई कन्भिन्स गराएर देउवालाई मनाएको कांग्रेस निकट एक नेताले जानकारी दिए।
‘सभापतिज्यूले अहिलेकै स्थितिमा कुलमानलाई हटाउँदा जनतामा नकारात्मक सन्देश जान्छ भनेर प्रधानमन्त्रीलाई रोकिराख्नुभएको थियो,’ ती नेताले भने, ‘पारिवारिक दबाबपछि अन्ततः उहाँ राजी हुनुभयो।’
को हुन् भूषण र प्रमोद?
भूषण र प्रमोद ठूला–ठूला ठेक्कापट्टा मिलाउने र नियुक्तिमा जोडिरहने नाम हो। आरजुका भाइको नाताले कांग्रेसभित्र ठूलो शक्ति सिर्जना उनीहरुले गरिरहेका छन्। उनीहरुलाई स्वार्थ समूहको उपनामले समेत विभिन्न ठाउँमा सम्बोद्धन गरिँदै आएको छ।
अर्जुन कार्कीले पनि स्वार्थ समूहको रुपमा भूषण र प्रमोदलाई प्रयोग गरेर प्राधिकरणमा पुनः प्रवेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।
भूषणको हाल कुनै ठूलो खाले व्यापार छैन। जाउलाखेलमा एउटा होटल छ, जुन राम्रोसँग सञ्चालन हुन सकेको छैन। उनलाई यस्तै ठेक्कापट्टा मिलाउने र नियुक्तिमा खेलोफड्को गरेको आरोप लाग्दै आएको छ।