काठमाडौं। आर्थिक वर्ष २०८२(०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा(छुट्टै छलफल गरेको छ। छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्ति लगायतका विषयमा समीक्षा गरी तिनिहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए। उनले बिमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरे। यस्तै, उद्योग मन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नुपर्ने बताए।
यसअघि अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक,सहरी र उर्जा मन्त्रालयसँग छलफल गरेको थियो ।