काठमाडौं। यतिबेला मुलुकभर चैते धान रोपाइँको चटारोमा किसान व्यस्त छन्। सरकारले यो वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
यसअघि गत वर्ष सरकारले पहिलोपटक चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २७०७ रुपैयाँ, ८ पैसा तोकेको थियो। यो वर्ष सरकारले १०० रुपैयाँ बढाएर चैते धानको समर्थन मूल्य तोकेको हो।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ।
फागुन २१ गते बेलुकी बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चैते धानको समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए।
बाली लगाउनु ३ महिनाअघि नै धानको समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ। यसपालि धान रोपाइँको चटारो भइरहँदा मूल्य तोकिएको हो। गत वर्ष पहिलोपटक चैते धानको समर्थन मूल्य तोकिएको थियो।
विगतका वर्षमा सरकारले धानको समर्थन मूल्य चैते, असार/साउन नभनेर एकीकृत रुपमा तोक्ने गरेको थियो। तर, गत वर्षदेखि चैते धानको मूल्य तोक्न थालेको हो। सरकारले धानकाे एकीकृत समर्थन मूल्य सबै माैसममा उत्पादित बालीलाई आधार बनाएर तोक्ने गर्छ।
कृषि तथा पशुपक्षी मन्त्रालको तथ्यांकअनुसार गत वर्ष १ लाख ८ हजार ६०७ हेक्टरमा चैते धान खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको थियो।
यस्तै असारे धान १३ लाख ३९ हजार १८२ हेक्टरमा खेती गरिएकामा ४९ लाख ४६ हजार १४१ टन प्रतिहेक्टर थियो। असारे र चैते गरी नेपालमा १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान खेती हुने गरेको सरकारी विवरण छ।