स्थिर सरकार छ, बैंकमा तरलता फालाफाल छ। हिजो हामीले १३/१४ प्रतिशत ब्याज तिर्नुपर्नेमा आज आठ प्रतिशत हाराहारी तिर्दा हुने स्थिति छ। यो ब्याजदरमा पर्याप्त कर्जा प्राप्त गर्न सकिने ठाउँ छ। सेयर बजार कर्जाबाटै चल्ने हो। पुँजी नभए चल्दैन। अर्कोतर्फ हिजोका दिनमा लगानीकर्ताले १२/१३ प्रतिशत ब्याज बैंकबाट पाएर सन्तुष्ट हुने ठाउँ थियो भने आज ब्याज घटेर ५/६ प्रतिशतमा झरेको छ।
यसरी, ऋण लिनेलाई पनि सस्तो ब्याजदरमा कर्जा प्राप्त हुने भयो भने बचतकर्तालाई पनि बैंकमा पैसा राख्दा कम ब्याज आउने भएकाले बजारमा लगानी गर्दा राम्रो हुने देखियो। यसले गर्दा सेयर बजारमा माग बढेर जाने देखिन्छ। हालका गभर्नर महाप्रसाद अधिकारी आएर २०७८ मा मौद्रिक नीतिमार्फत पुँजी बजारलाई जुन किसिमको प्रहार गर्नुभयो, त्यसबाट केही मात्रामा नीति सहज बनाउँदै र संशोधन गर्दै गए पनि पूर्ण रुपमा खोलेर गएको स्थिति छैन।
हालै केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि गभर्नर अधिकारीले सेयर लगानीकर्ताका माग सम्बोधन गर्नुभएन। सेयर धितो कर्जामा लगाइएको व्यक्तिगततर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार कायम गर्नुपर्नेलगायत विषय समेटिएनन्।
बैंक तथा वित्तीय संस्थाको असल कर्जाको प्रोभिजन दर कोरोना महामारीका बेला १.३० रहेकामा यसलाई संशोधन गर्दै १ प्रतिशतमा झारिएको छ। यसले करिब–करिब साढे ४ अर्ब रुपैयाँ नाफा बैंकिङ प्रणालीमा आउने देखिन्छ भने कर्जा क्षमता पनि ४० अर्बले बढेका देखिन्छ। अब हालका गभर्नर अधिकारी जाँदै गर्दा आउने अर्का नयाँ गभर्नरले बजारको हितमा पक्कै काम गर्नुहुन्छ भन्ने विश्वास हाम्रो छ।
अब आउने गभर्नर नेपालको अर्थतन्त्र बुझेकै आउनुहुन्छ। जो आएपछि उहाँले बजार हेर्नुभएको र बुझ्नुभएको छ। यसर्थ, नयाँ आउने गभर्नरले हाम्रो मागहरू सम्बोधन गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीसँग छ। यसका अलावा हाल पुँजीबजार एकदमै तल छ। सामान्यतया जतिमा हुनुपर्ने हो, त्योभन्दा धेरै तल भएकाले पनि बजार बढ्नुपर्ने देखिन्छ।
यो बीचमा धेरै सेयर थपिएका छन्। धेरै कम्पनी सूचीकृत भएका छन्, राइट सेयर, बोनस सेयर थपिएका छन्। पुँजी पनि उत्तिकै मात्रामा थप भएका छन्। यस्तो अवस्थामा नेप्से २८०० बिन्दुमा हुनु भनेको यो माथिल्लो बिन्दु होइन। यी कारणले गर्दा पनि बजारले लय समाउने सम्भावना बढी देखाउँछ। यद्यपि, बजारले करिब–करिब लय समाइसकेको अवस्था छ।
टेलिकम कम्पनीसँग भएको पुँजी, प्राधिकरणसँग भएको पुँजी तथा संस्थागत लगानीकर्ता भित्रिनुपर्छ भन्ने हाम्रो मान्यता हो। अहिले बिमा कम्पनीमा हाम्रो धेरै रकम संकलन हुने गरेको छ। यो पैसा बैंकमा राख्नुभन्दा उनीहरूलाई सेयर बजारमा लगानी गर्न दिनुपर्छ र दायरा बढाइनुपर्छ भन्ने भनाइ सुझाव हो।
समग्र बजार अवस्था र सूचक हेर्दा पनि उतारचढाव र तलमाथि हुँदै नेप्से माथि जाने देखिन्छ। सधैं उकालो मात्रै लाग्नुपर्छ वा घट्नु मात्रै पर्छ भन्ने हुँदैन। घटबढ हुँदै बजार माथि जाने गर्दछ। पछिल्लो दुई सातादेखि १० अर्बमाथिको कारोबार प्रत्येक दिन भइरहेको छ। कारोबार रकमले पनि नेप्से माथिल्लो बिन्दुमा जान साथ दिने संकेत देखाइरहेको छ।
बजारमा फँसेर बसेका लगानीकर्तादेखि संस्थागत लगानीकर्ता पनि प्रवेश गरेका छन्। बैंकमा ब्याजदर कम पाउने र तुरुन्तै लगानी गरेर नाफा कमाउन सक्ने अन्य क्षेत्र पनि खासै नभएको स्थिति छ। कोरोना महामारीले अर्थतन्त्रमा परेको असरमा पनि विस्तारै सुधार आउँदै गएको छ। जंगलामा डढेलो लागेपछि त्यस ठाउँमा बिरुवाका मुना पलाएजस्तै हाम्रो अर्थतन्त्रमा पनि मुना पलाउन थालेका छन्।
यी र यस्ता कारणले पुँजी बजार राम्रो हुने र उकालो लाग्छ भन्ने मेरो बुझाइ हो। अब गभर्नर कुन पार्टीबाट आउँछन् भन्ने कुरा हामीलाई धेरै चासोको विषय होइन। तर, हालका गभर्नर अधिकारीले बजारलाई बुझ्नुभएन, कसिला नीति ल्याएर जाँदै हुनुहुन्छ। यसर्थ, अब आउने गभर्नर जताबाट आए पनि अर्थतन्त्र बुझेको, पुँजी बजार बुझेको र लगानीकर्ताको संरक्षणलाई प्राथमिकता दिने मान्छे आउनुपर्छ भन्ने हाम्रो बुझाइ हो।
हाम्रो बजारका लागि राज्यले गर्नुपर्ने विषय धेरै छन्। बजारमा नयाँ प्रविधि प्रयोग, नयाँ स्टक एक्सचेन्जको कुरा, नयाँ औजार ल्याउनेजस्ता विषय छन्। यद्यपि, पुँजीबजार एक्लै कहिल्यै अगाडि बढ्दैन। यसका लागि बैंक तथा वित्तीय क्षत्र राम्रो हुनेदेखि अर्थतन्त्र चलयमान हुनुपर्दछ। अहिलेका उद्योग व्यवसायी सहज ढंगमा अगाडि बढ्न सक्ने किसिमको नीति ल्याउने किसिमको गभर्नर आए नेपाली अर्थतन्त्रले फड्को मार्छ। अर्थतन्त्रले फड्को मार्दा पुँजी बजारमा पनि सुधार नआउने कुरै भएन।
बजारमा फँसेर बसेका लगानीकर्तादेखि संस्थागत लगानीकर्ता पनि प्रवेश गरेका छन्। कोरोना महामारीले अर्थतन्त्रमा परेको असरमा पनि विस्तारै सुधार आउँदै गएको छ। जंगलामा डढेलो लागेपछि त्यस ठाउँमा बिरुवाका मुना पलाएजस्तै हाम्रो अर्थतन्त्रमा पनि मुना पलाउन थालेका छन्।
पछिल्लो केही सातादेखि बिमा कम्पनीले सेयर बजारमा लगानी गर्न पाउने दायरा बढाउने विषय आइरहेको छ। बिमा कम्पनीसँग ठूलो पुँजी हुन्छ। त्यसैले हामीले बिमा मात्रै नभएर ठूलाठूला संस्थाहरू बजारमा आउनुपर्छ भनेर आवाज उठाइरहेका छौं। बिमा कम्पनीहरूले बैंकमा राखेर पाउने ब्याज धेरै हुँदैन। अर्कोतर्फ सञ्चय कोषको पैसा पनि बजारमा लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
टेलिकम कम्पनीसँग भएको पुँजी, प्राधिकरणसँग भएको पुँजी तथा संस्थागत लगानीकर्ता भित्रिनुपर्छ भन्ने हाम्रो मान्यता हो। अहिले बिमा कम्पनीमा हाम्रो धेरै रकम संकलन हुने गरेको छ। यो पैसा बैंकमा राख्नुभन्दा उनीहरूलाई सेयर बजारमा लगानी गर्न दिनुपर्छ र दायरा बढाइनुपर्छ भन्ने भनाइ सुझाव हो। यसर्थ, यस विषयमा केही गृहकार्य भइरहेको भन्ने हामीलाई लाग्छ।
हाल नियुक्त बिमा प्राधिकरण अध्यक्ष पनि एकदमै युवा र अर्थतन्त्र बुझेको हुनुहुन्छ। यसर्थ, उहाँले यस्ता औजार ल्याउनुहुनेछ भन्ने आशा छ। जाम भएर तथा एकै ठाउँ फ्रिज भएर बसेको पैसा पुँजी बजारमा ल्याउनुहुन्छ भन्ने आशा छ। अध्यक्ष भर्खरै आएकाले पुँजी बजारमा सहयोग पुर्याउने किसिमको नीति ल्याउन सुझाव दिन्छौं।