काठमाडौंका सडकमा बाइक कुदाउँदै हिँड्ने बौद्धका प्रकाश न्यौपानेसँग स्कुल पढ्दाताका ठूला सपना थिएनन्। राम्रो परिवारमा हुर्किएका उनले गतिलै स्कुलमै पढ्न पाए। रहर पूरा गर्न नसकी मन मार्नुपर्ने अवस्था थिएन। बुबा प्रहरीमा जागिरे भएकाले परिवारको आर्थिक हैसियत राम्र्रै थियो।
तर अकस्मात् परिस्थिति प्रतिकूल बनिदियो। बुबा बितेपछि आफ्नै थलो काठमाडौं छाड्नुपर्ने अवस्था आयो। काठमाडौंसँगै मन पर्ने बाइक छुट्यो। साथीहरू छुटे। सहरिया जीवनशैली छुट्यो। बाध्यता नहुँदा काठमाडौं छाड्ने चार दशकअघिको त्यो निर्णयले आज उनलाई नेचुरलिस्टको पहिचान दिलाएको छ। सके प्रहरीमा जागिर खान्छु, नभए काठमाडौंमै केही न केही गरेर गुजारा गर्छु भन्ने सोचेका प्रकाश जंगल, चरा र जंगली जनावरबाट टाढा हुनै नसक्ने गरी जोडिए।

जस्तो भए पनि जागिर गर्ने अठोटले चितवन आइपुगेका उनको त्यो जीवनको टर्निङ प्वाइन्ट बिनिदियो। बिनायोजना र सोच उनी नयाँ बाटोमा हिँड्न थालिसकेका थिए। पकेट खर्चका लागि जागिर खोज्दै चितवन आइपुगेका उनी पहिलो जागिरमा १० वर्ष बिताए। त्यो अवधिमा यहाँ उनले जवानी खर्चिए, त्योभन्दा धेरै ज्ञान र सीप सिके।
कलेज पढ्दै गरेका न्यौपानेले बुबालाई गुमाउँदा मुलुकमा भर्खरै बहुदलीय व्यवस्था (२०४६) आएको थियो। मुलुकले नयाँ संविधान पाएको थियो। जनआन्दोलनको बलमा बनेको नयाँ सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए। बुबा बितेपछि न्यौपाने दाजुमा आश्रित हुन चाहेनन्। त्यसैले आफैं जागिरी हुने सोच बनाए। तर, अल्लारे ठिटोलाई कसले दिने जागिर? फेरि त्यो बेला सहजै जागिर पाउने अवस्था थिएन। भनसुन चलिहाल्थ्यो।
बुबा प्रहरीमै छँदा प्रधानमन्त्री भट्टराईका स्वकीय सचिव हरि उपाध्यायसँग चिनजान बनाएको विषय प्रकाशलाई राम्रोसँग थाहा थियो। उपाध्यायको घर बौद्धमै भएकाले उनी छिमेकी पनि थिए। अब उहाँमार्फत नै जागिर खानुपर्छ भन्ने सोचले प्रकाशलाई एकाबिहानै उपाध्याय काकाको घर पुर्यायो। उनले त्यहाँ बिन्ती बिसाए, ‘काका जसरी भए पनि जागिर चाहियो। बरु जस्तो भए पनि हुन्छ, आफ्ना लागि भए पनि जागिर नगरी भएन।’ उपाध्यायले काम गर्ने नै हो भने दरबारमार्गको एउटा अफिसमा जाऊ, म भनिदिन्छु भन्दै बाटो देखाइदिए।
उपाध्याय काकाले भनेअनुसार उनी मोटरसाइकल दौडाएर दरबारमार्ग अफिस पुगे। ‘मलाई पछि थाहा भयो, त्यो द्वारिका श्रेष्ठको प्रपर्टी रहेछ’, उनले भने, ‘उहाँले तिमी मोटरसाइकलमा काठमाडौंमा रमाइरहेको मान्छे, चितवनको जंगलमा लालटिन बालेर बस्न सक्छौ? भन्नुभयो।’ तर जसरी पनि जागिर खाने हुटहुटी पालेका न्यौपानेका अगाडि कुनै विकल्प थिएन। उनी चितवन जान तयार भए।
उनी जागिर खोज्दै गएको दरबारमार्ग कार्यालयले चितवन राष्ट्रिय निकुञ्जभित्र ‘चितवन जंगल लज’ सञ्चालन गरिरहेको रहेछ। उनले काम गर्र्न चितवनको जंगल जानुपर्ने भयो। सहरको मान्छेलाई एक्कासि घर छाडेर टाढाको जंगल जाने कुराले सुरुमा अलि हच्कायो पनि।
न्यौपाने तयार भए पनि श्रेष्ठ उनलाई त्यहाँ पठाउन तयार देखिएनन््। न्यौपानेको अल्लारे रहरमै श्रेष्ठ कन्भिन्स हुन सकेनन्। श्रेष्ठले भने, ‘अहिले होइन। काम गर्ने नै हो भने तीन महिनापछि आउनू।’ न्यौपानेले अब जागिर नपाइने भयो भन्ने बुझे। तर, उनले तीन महिनाको काम हेर्नुस् अनि निर्णय गर्नुहोला। अहिलेलाई चितवन जान दिनुस् भन्दै मनाउन खोजे पनि श्रेष्ठले मान्ने कुरै भएन । उनी कार्यालयबाट निरास मन र रित्तो हात फर्किए।
मन खिन्न बनाएका न्यौपाने मोटरसाइकल लिएर फेरि सीधै उपाध्याय काकाकहाँ पुगे र गुनासो गरे। सबै बेलीविस्तार लगाए। उनले काकाँसग फेरि जसरी पनि जागिर चाहिएको अडान दोहोर्याए। काकाले सम्झाई–बुझाई घर फर्काइदिए। न्यौपाने अब जसरी पनि त्यही काम गर्नुपर्छ भन्ने सोचले घोतलिए। उनी तीन महिना कुर्ने अवस्थै थिएन। त्यसैले तीन दिनमै फेरि बिहानै कार्यालय पुगेर जसरी पनि जागिर खाने भन्दै द्वारिका श्रेष्ठसामु अड्डी कसे। न्यौपानेको दृढता देखेर यसपालि श्रेष्ठ गले। उनले एउटा कागज हातमा थमाएर चितवन गई काम गर्नू भन्दै जागिर दिए।
बुबा प्रहरीमै छँदा प्रधानमन्त्री भट्टराईका स्वकीय सचिव हरि उपाध्यायसँग चिनजान बनाएको विषय प्रकाशलाई राम्रोसँग थाहा थियो। उपाध्यायको घर बौद्धमै भएकाले उनी छिमेकी पनि थिए। अब उहाँमार्फत नै जागिर खानुपर्छ भन्ने सोचले प्रकाशलाई एकाबिहानै उपाध्याय काकाको घर पुर्यायो।
दरबारमार्ग कार्यालयबाट चितवनमा रहेको रिसोर्टमा फोन सम्पर्क गरी न्यौपाने त्यहाँ आइपुग्ने मिति र समयबारे जानकारी गराइयो। यता, न्यौपानेले बेडसिट कसे र साझा बसमा चितवन हुइँकिए। ‘रिसोर्टमा बस्न कपडा आफैंले लैजानुपर्ने रहेछ। बुबा प्रहरीमा छँदाको बेडसिट बोकेरै चितवनका लागि साझा बस चढेको थिएँ’, उनले घटना स्मरण गरे।
सहरिया जीवन छाडेर चितवनको जंगल जाँदै गरेका उनलाई न आफू पुग्ने गन्तव्य थाहा थियो, न त ओर्लने ठाउँबारे जानकार। भण्डारामा बस रोकिदिनू भन्दै खलासीको हातमा पाँच रुपैयाँ थमाए र उबडखाबड बाटोमै निदाइदिए।
भण्डारा नपुग्दै कसैले उनलाई पर्खिरहेको थियो। बसबाट ओर्लनेबित्तिकै कसैले आएर सोध्यो– हजुर प्रकाश सर हो? ल्याउनुस्, झोला म बोकिदिन्छु। ‘त्यो अल्लारे ठिटोलाई मलाई सर भनी बोलाउँदा मनमा निकै आनन्द आयो’, न्यौपानेले त्यो क्षण सम्झँदै भने, ‘काम के हो थाहा छैन तर सम्मान भने पाइयो भन्दै मनमनै खुसी भएँ।’

भण्डाराबाट खुला जिपमा चढेका उनी झन्डै सात किलोमिटर परको चितवन जंगल लजतर्फ अघि बढे। चार÷पाँच पटक राप्ती नदीको वारपार गर्दै घाँसे मैदान छिचोल्दै, चराचुरुंगीको चिरबिर आवाजमा घना जंगलभित्रको सैनिक चेकपोस्ट हुँदै उनी लज आइपुगे। बाटोभरि घना जंगलमा किन आएँ भन्दै आफैंलाई धिक्कारेका उनी जसै लज पुगे, त्यहाँको सुन्दरता र प्रकृति देखेर मोहित बने।
‘सुरुमा त्यो मैले सोचेजस्तो ठाउँ होइन कि भन्ने लागेको थियो। तर रिसोर्टको वातावरणले लोभिएँ। मैले त्यस्तो ठाउँमा जागिर गर्छु भन्ने कल्पना गरेकै थिइनँ’, उनले भने, ‘मलाई अर्कै संसारमा आएजस्तो भइरहेको थियो।’
लजमा एक दशक
चितवन जंगल लजमा पुगेपछि मात्रै उनले आफ्नो काम विदेशी पर्यटक घुमाउने हो भन्ने थाहा पाए। तलब १२ सय तोकिएको रहेछ, जुन त्यो समय निकै राम्रो थियो। उनी लज पुगेका दिन अपरेसन इन्चार्ज उद्धव भट्ट र सिलोङबाट आएका मदन राना म्यानेजर थिए। त्यो बेला धेरै नेपाली राम्रोसँग अंग्रेजी बोल्न नजानेकाले नेचर गाइड निकै कम थिए। दार्जिलिङ र सिलोङलगायतका भारतका ठाउँबाट गाइड ल्याउने चलन थियो। उनले काठमाडौंबाट कलेजको कागज दिए र १७ नम्बरको कोठाको चाँबी लिएर सुत्न गए।
भोलिपल्टदेखि उनको काम सुरु भयो। अंग्रेजी राम्रो भएकाले विदेशीलाई घुमाउन र जानकारी दिन समस्या भएन। दिन, हप्ता, महिना बित्दै गए। यसै क्रममा लजमा उनीअघि आएका कुमार गिरीसँग दोस्ती बढ्यो। काठमाडौं विमानस्थल नजिकै पेप्सीकोला आसपास घर भएकाले पनि गिरीसँगको आत्मीयता र हिमचिम बढ्यो। ‘काठमाडौं बसेको म सुरुमा त जंगल यस्तो पनि हुन्छ भन्ने लागेको थियो। बौद्ध र कपनमा एयरगनले चरा मार्दै हिँड्ने मलाई अब पर्यटकलाई चरा चिनाउँदै हिँड्नु परिरहेको थियो’, उनले भने, ‘नेचर गाइड शब्द नै चितवन आएर सुनेको हो, पछि त यही करिअर बन्यो।’
सुरुमा सिनियरले लठ्ठी बोकाएर अगाडि हिँड्न लगाउँदै काम सिकाए। उनले साथ र सहयोग पनि राम्रो पाए। गौशालाबाट केही दिनअघि मात्रै आएका सुदर्शन केसीसँगको दोस्ती पनि राम्रोसँग जम्यो। काम गर्दै जाँदा चराप्रति औधी माया पलाउन थाल्यो। हरेक दिन चरा हेर्ने बानी बस्यो। चराको रंग, चुच्चो र चिरबिर मन पर्न थाल्यो। एकै दिन पनि चरा देख्न नपाउँदा मन खिन्न हुन थाल्यो।
‘काठमाडौंको कपनमा हाम्रो पुख्र्यौली खेतमा हामी धान रोप्थ्यौं। आर्मीले प्यारासुट खसाल्ने ठाउँ पनि थियो। पशुपति र बौद्धका परेवा आहार खोज्दै आउँथे। हामी तिनै परेवा मार्न पाउँदा औधी खुसी हुन्थ्यौं। तर, चितवन आइसकेपछि ठ्याक्कै उल्टो भयो। चराको बाँच्न पाउने अधिकार थाहा भयो। जनावरको आनीबानीबारे बुझेपछि सोचाइ परिवर्तन भयो’, उनले भने।
उनले विस्तारै चरासँगै गैंडाको इतिहास पढे। बाघको रहनसहन थाहा पाए। प्रकृतिलाई नजिकबाट नियाले। यसैक्रममा जंगलबाट अन्त कतै जानै मन नलाग्ने अवस्था आयो। उनी नेचर लभर हुँदै निचुरलिस्ट बने। दैनिकी जंगलको टावरमा चढेर दिनभरि दूरबिनबाट चरा र जनावर खोज्दै अनि नियाल्दै बित्न थाल्यो।
उनले सुरुआती दिनको एउटा घटना सुनाए। लजमा काम र जिम्मेवारीबारे उनले प्रस्तुति दिनुपर्ने भयो। धेरै मान्छेका अगाडि कसरी प्रस्तुति दिने भन्ने डरले मन अत्तालिएको थियो। जसोतसो प्रिजन्टेसन तयार भए पनि अगाडि गएर बोल्ने आँट आएन। त्यत्तिकैमा उद्धव दाइले ‘लौ एक पेग रम खाऊ र निर्धक्क प्रस्तुति देऊ’ भन्दै उचाले। न्यौपाने पनि के कम! दुई पेग रम घुटुक्कै निले। ‘रम जसै भित्र गयो, जोस बाहिर आइहाल्यो। त्यही जोसमा गज्जबको प्रस्तुति दिएँ। सबैले प्रशंसा पनि गरे’, उनले सुनाए।
यस्तै, हौसलासँगै अघि बढ्दै जाँदा त्यसपछि जंगलमा अभ्यस्त हुँदै गए। जति जान्यो जंगल उति रमाइलो लाग्न थाल्यो। नयाँ–नयाँ चरा र तिनबारे जान्ने उत्सुकता बढ्दै गयो। जंगल र जनावरप्रति बढ्दो लगावले अन्यत्र जाने सोच कहिल्यै पलाएन। ‘अवस्था कस्तो भइदियो भने पर्यटकलाई देखाउनेभन्दा बढी म ती जनावर हेर्दा उनीहरूभन्दा बढी खुसी हुन थालें। बरु पर्यटक गैंडा र बाघ देख्न नपाउँदा भोलि हेरौंला भन्थे तर म आज देख्न पाइएन भन्दा दुःखी हुन थालिसकेको थिएँ’, उनले भने।

जंगलमा प्रत्येक दिन फरक हुन्छ। आज जे देखियो, त्यो अर्को दिन नदेखिन पनि सक्छ। हरेक दिन गैंडा र बाघ नदेखिन सक्छन्। तर, उनी हरेक दिन देख्न पाइयोस् भन्ने चाहन्थे। सुरुमा नेचुरलिस्टबाट काम थालेका उनले पछि अपरेसन हेर्न थाले। कहिलेकाहीँ म्यानेजरको पनि भूमिका वहन गरे। नेचरगाइडदेखि व्यवस्थापकसम्मको काम, भूमिका र जिम्मेवारी सिक्ने मौका पनि पाए।
त्यहाँ काम गर्न थालेको १० वर्षमा उनको भण्डाराकी एक युवतीसँग बिहे भयो। बिहे गरेपछि ससुराल नजिकै। के काम गर्नू भन्ने लागेर उनी काठमाडौं फर्किए। ‘खासमा विदेशीसँग हिँड्नुपर्ने, विदेशी महिलाले हात समात्ने, अँगालो हालेका बेला कोही ससुरालीले देखे भन्ने होलान् भन्ने डरले म काठमाडौं आएँ। यता केही काम गरौंला भन्ने थियो’, उनले भने। एक दशकपछि उनी काठमाडौं फर्किए।
त्यो बेला काठमाडौंमा सहकार्यमा काम गर्नेहरू उनलाई कुरिरहेका थिए। अगस्त १५ मा चितवनको जागिर छाडेर काठमाडौं आएको तीन दिनमै न्यौपानेले बौद्धको होटलमा जागिर पाइहाले। उनलाई चिनजानका गजेन्द्र लामाको २२ कोठ होटल सम्हाल्ने जिम्मा आइलाग्यो। उनी पनि घरपायक जागिर पाउँदा खुसी भए। तर, यो खुसी धेरै समय टिक्न भने सकेन। जंगलमा चरा र वन्यजन्तुसँग रमाइरहेका उनलाई केही समयमै उकुसमकुस भयो।
बौद्धको होटलमा काम गर्न थालेको तीन महिना भएको थियो होला। एक जना बर्ड वाचिङमा काम गरिरहेका हटन चौधरीले तिमी तुरुन्तै यता आऊ, किन त्यहाँ बसिरहेको भन्दै फोन गरे। उनलाई पनि कुन बेला जागिर छाडौं भइरहेको थियो। त्यो समय खोजेजस्तै भयो। उनले भरत बस्नेतको कम्पनी द एक्सप्लोर नेपालको कार्यालयमा पुगे। दार्जिलिङका प्रकाश मोक्तानले अन्तर्वार्ता लिए र जागिर पनि दिइहाले।
उनको त्यसपछिको सहकार्य भरत बस्नेतसँग सुरु भयो। बस्नेतसँग उनी एरभेष्ट बेसक्याम्पसम्म पुगे। थोराङपास, चोलापास, लाङटाङलगायत पदयात्राका अधिकांश रुट छिचोले। पछि भरतले गैंडा वाइल्डलाइफ किनेपछि त्यसैको जनरल म्यानेजर भई काम गरे, जहाँ उनले १२ वर्ष बिताए। त्यहाँ काम गर्दा उनीहरू पर्यटक लिन दिल्लीसम्म पुग्थे। यसै क्रममा भारतका कैयौं निकुन्जमा चरा हेर्ने÷घुम्ने मौका पाए।
गैंडा वाइल्ड लाइफमा जनरल म्यानेजर हुँदा एक दिन नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को टे«नी ग्रुप उनीकहाँ आइपुग्यो। त्यसबेला नाथमका प्रिन्सिपल कृष्ण खरेल पनि साथै आएका थिए। उनैले न्यौपानेलाई नाथममा पनि एउटा क्लास लिइदिनुपर्यो भने। आफूले जानेको ज्ञान बाँड्दैमा के हुन्छ र भन्ठानेर उनले नाथममा पनि काम सुरु गरे।
‘सुरुका केही क्लास त मैले फिल्डमै लिएँ तर, पछि काठमाडौं नै आइदिनुपर्यो भनेपछि अहिलेसम्म त्यसलाई निरन्तरता दिँदै आएको छु’, उनले भने। तर, सन् २००९ मा तत्कालीन सरकारले चितवन निकुञ्जभित्र रहेका सात वटा रिसोर्टको सञ्चालन अवधि नवीकरण नगर्ने निर्णय ग¥यो। त्यससँगै गैंडा वाइल्इ लाइफ रिसोर्ट पनि बन्द भयो। उनी फुर्सदिला बने।
गैंडा वाइल्ड लाइफ छाडेपछि केही साथीसँग मिलेर इको वाइल्ड लाइफ लज पनि चलाए। साढे दुई बिघा जमिनमा २५ रुमसहितको लज बनाएर चलाउँदै गर्दा भूकम्प आइदियो (२०७२) । भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण लगानीकर्ता साथीहरू आत्तिए। उनीहरूले अब यो चल्दैन, बिक्री गरौं भने। उनको पनि केही लागेन। अन्ततः लज बिक्री गरेर काठमाडौं बस्न थाले।
सिद्धार्थ हस्पिटालिटी
आफ्नो लगानीको लज बिक्री गरेपछि उनी केही समय काठमाडौंमै सीमित भए। कहिलेकाहीँ पर्यटक लिएर डाँडाकाँडा चहार्ने र कहिलेकाहीँ पढाउनेबाहेक अरू काम गरेनन्।
यत्तिकैमा एक दिन वासु ढुंगानासँग भेट भयो। त्यसो त, ढुंगानासँगको दोस्ती प्रकाशको पुरानो हो। संरक्षणकर्मी ढुंगाना मध्यवर्ती उपभोक्ता समितिमा अध्यक्ष हुनुअघिदेखि प्रकाशको दोस्ती राम्रै थियो।

प्रकाशलाई ढुंगानाले वनबास बनाउँदै छन् भन्ने थाहा थियो किनभने प्रकाशले वनबास बनाउन १२ वर्ष खर्चिएका थिए। त्यहाँ उनले चराचुरुंगीका लागि सुरुमा रुख रोपेका थिए। जलाशय बनाएका थिए। यसलाई न्यौपानेले नजिकबाट नियाल्न पाए।
जब वनबासा व्यावसायिक रूपमा सञ्चालनका लागि तयार भयो, वासुले नै प्रकाशलाई मिलेर काम गर्ने प्रस्ताव गरे। प्रकाशलाई आफूले खोजे र रोजेजस्तो ठाउँमा काम गर्न पाएपछि के चाहियो? उनले उक्त प्रस्ताव स्वीकार्दै काम सुरु गरिहाले। उनी अहिले सिद्धार्थ हस्पिटालिटी व्यवस्थापनमा सञ्चालन भइरहेको वनबासा भिलासाको व्यवस्थापनसँगै नेचुरलिस्टका रूपमा आफ्नो प्यासन अघि बढाइरहेका छन्।