काठमाडौं । काठमाडौ महानगरपालिकाले नयाँ वर्ष २०७७ बैशाख १ गते देखि रात्रीकालीन यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको छ । उपत्यकालाई जागा बनाउँदै लान रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालनको तयारीलाई तीब्र बनाउन महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
बुधबार महानगरले आयोजना गरिएको ‘काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात र ट््याक्सी सेवा सञ्चालन’ बिषयमा सरोकारवालासँग मेयर शाक्यले यस्तो आग्रह गरेका हुन् । उनले भने ‘रातीमा यातायात सञ्चालन गर्नु सजिलो काम होइन । तर, अहिले सहरलाई रातीमा पनि जागा बनाउँदै लैजान र यातायात प्रणालीलाई बिस्तार गर्दै लैजान आवश्यक भएकाले रात्रीकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गछौं ।’
२०६९ मा पनि उपत्यकामा रात्रीकालीन यातायात सञ्चालन गरिएको थियो । तर, केही समय मात्र सञ्चालनमा आएर बन्द भयो । अब अहिले समय र समाज फेरिएको भन्दै महानगरले यसलाई निरन्तरता दिने भएको छ । रात्रीकालीन बस बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ ।
महानगरले यातायात व्यवस्थापनको लागी एक वर्ष दखि डुँडिखेल वरिपरि ‘पिक एण्ड ड्रप’ शुुरु गरिसकेका छ । शुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको भन्दै मेयर शाक्यले भने ‘महानगरसँग पहिलेको १८ महिना रात्री सेवा सञ्चालनको अनुभव छ । त्यसको सिकाइलाई उपयोग गरेर दिगो सेवा व्यवस्थापनको काम गरौं ।’
बैठकमा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगनबहादुर हमालले, साँझ वा त्यसपछिको समयमा मानिसहरु बाहिर निस्कने वातावरण तयार गर्दै सवारी सञ्चालनलाई यससँग जोड्नु पर्ने बताए । उनले भने, ‘रात्रीकालीन सेवा सञ्चालन गर्नुको विकल्प छैन । यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ ।’
बैठकमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले समन्वयको काम गर्ने बताउँदै सकारात्मक योजनालाई चाँडै अघि बढाउनु पर्ने बताए ।
काठमाडौंका मानिसहरु चाँडै घर फर्कन्छन् । यहाँको सामाजिक परिवेश नै त्यस्तै छ । रात्रीकालीन बजार चलाउँदै जाने, सडकमा पर्याप्त सडक बत्ती व्यबस्था गर्ने योजना अघि बढाउनुपर्ने महानगर सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।
महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले रात्रीकालीन व्यवसायलाई प्रबद्र्धन र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताए । रात्रीकालीन यातायातले नेपाल भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि पनि सहयोग पुग्ने बैठकमा सभागीले बताएका छन ।
बिगतमा अभ्यास गरियो । अबको थालनी चाहिँ दिगो हुने गरी गर्नुपर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष धर्मराज रिमालले बताए ।
उनका अनुसार रात्रीकालीन यातायात सञ्चालन गर्दा अनुदान दिएरभन्दा भाडा दरमा वृद्धि गरेर सेवालाई दिगो बनाउन सकिने बताउदै, कम्तीमा १५ रुटमा ६० वटा सवारी साधनबाट सेवा सञ्चालन गर्न सक्छौं । यसका लागि सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनुपर्ने रिमालको भनाइ छ ।
यातायात व्यवसायी महासंघले सवारी सञ्चालन गर्नेछ भने काठमाडौं महानगरपालिकाले यसका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । त्यस्तै रातमा सञ्चालन गरिने अनलाइन प्रिपेड ट्याक्सीहरुमा जिपियस प्रणाली समेत जडान गरिदिने भएको छ ।
याे पनि पढ्नुहाेस्
काठमाडौमा रात्री बस सञ्चालन अन्योल, महानगर भन्छ : दोब्बर भाडा कायम गरेर भएपनि रात्रीबस चलाउछाै