काठमाडौं। नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज ९एन एविटी जहाज २०८१ जेठ २३ देखि ग्राउन्डेड भयो। २०८१ पुस ७ देखि अर्को ट्वीनअटर जहाज पनि ग्राउन्डेड छ। दुईवटै जहाज ग्राउन्डेड भएपछि विगत तीन महिनादेखि निगमको आन्तरिक उडान ठप्प छ।
व्यवस्थापनको चरम लापरबाहीले आन्तरिक उडान ठप्प भए पनि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने बेखबरजस्तै बनिरहेको छ। निजी क्षेत्रका एयरलाइन्सले यात्रुबाट महँगो भाडा लिएको भन्दै घटाउन दबाब दिँदै आएको मन्त्रालयले आफ्नै मातहतको निगमको जहाज महिनौंदेखि ग्राउन्डेड भएको विषयमा भने बेवास्ता गरेको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेमाथि आरोप लाग्दै आएको छ।
निगमको जहाज सञ्चालनमा सुरुमा आक्रामक भएका पर्यटन मन्त्री पछिल्लो केहि महिनादेखि भने मौन हुँदै आएका छन्। ‘निगम अस्तव्यस्त हुँदा समेत मन्त्री ज्यूले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सोधखोज गर्नुभएको देखिदैन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘निजी क्षेत्र प्रति कडा र निगम प्रति नरम देखिनु भएको छ, किन हो थाहाँ छैन।’
९ महिनादेखि जहाज ग्राउन्डेड, छैन मर्मत टुंगो
इन्जिनमै समस्या आएपछि ९ महिनादेखि ट्वीनअटर जहाज ग्राउन्डेड छ। यस्तै अर्काे जहाज ३ महिनादेखि ग्राउन्डेड हुँदा त्यसमा आबद्ध कर्मचारी कामविहीन भएका छन्।
महिनौंसम्म उडान ठप्प भएपनि हालसम्म कहिलेदेखि उडान गर्ने र कसरी उडान गर्ने भन्ने टुंगो र योजना निगमले बनाइसकेको छैन। तर, जहाज नै नउडे पनि निगमले ती कर्मचारीलाई नियमित रुपमा तलब भत्ता भुक्तानी भने गरिरहेको छ।
निगमका प्रवक्ता रमेश पौडेल चैतको पहिलो सातादेखि उडान सुरु गर्ने गरी आन्तरिक तयारी थालिएको बताए। ‘फागुनको अन्तिम साता भित्रै एउटा इन्जिन आइपुग्छ,’ प्रवक्ता पौडेलले भने, ‘भन्सार पास गर्न र जडान गर्दा केहि समय लाग्ने भएकोले चैतको पहिलो सातादेखि नियमित उडानमा फर्किने गरी तयारी थालेका छौं।’ आन्तरिक उडानमा प्रयोग हुने क्याप्टेन बाहेक अन्य कर्मचारीहले कार्यकालयको अरु पनि काम गरिरहेको उनले जानकारी दिए।
जहाज नउडे पनि १६ विमानस्थल कुर्दै कर्मचारी
निगमको जहाज सञ्चालन हुँदा आन्तरिक विमानस्थलमध्ये १६ वटामा कर्मचारी परिचालन गरिएको छ। अधिकांश विमानस्थलमा ३/३ जना कर्मचारी राखिएको छ।
यस्तै, विराटनगरमा ५ र नेपालगन्जमा ११ जना कर्मचारी कार्यरत छन्। ती कर्मचारी अहिले पनि विमानस्थलमै बसिरहेका छन्। विमानस्थलमा कार्यरत कर्मचारीमध्ये अधिकांश करारकै रहेका छन्।
११ मध्ये ९ जना पाइलट करारमा
निगमको २ वटा ट्वीनअटर जहाज उडानका लागि ११ जना पाइलट नियुक्त गरिएको छ। तीमध्ये ९ जना करारका छन् भने २ जना मात्र निगमकोे हो। यस्तै २० जना भन्दा बढी कोपाइलट र सोही संख्यामा विमानपरिचालिकासमेत छन्।
निगममा स्थायीबाहेक करारका पाइलटलाई प्रति महिना ७ लाख रुपैयाँभन्दा बढी तलब दिनुपर्छ। ९ महिनादेखि जहाज ग्राउन्डेड भए पनि नियमित रुपमा ती पाइलटलाई निगमले तलब भत्ता भने दिइरहेको जनाएको छ। को-पाइलट र विमान परिचालिकाको भने पाइलटको तुलनामा कम तलब छ।
यसरी जहाजनै सञ्चालनमा नआइरहेको बेला ती करारमा नियुक्त भएका क्याप्टेन र कर्मचारीलाई बिदा गरेर आवश्यक परेको बेला बोलाउने व्यवस्था गर्नुपर्नेमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ध्याननै नदिएको निगमका उच्च व्यवस्थापकहरुको गुनासो छ। ‘अध्यक्ष अधिकारीले हाम्रो कुरै सुन्नुहुन्न,’ ती व्यवस्थापकले भने, ‘खर्च कटौतीमा ध्यान नदिँदा महिनामै लाखौं रुपैयाँ ती कर्मचारीलाई दिनुपरेको छ।’
करारका पाइलटले नियमित उडान समेत गरेका हुँदैनन्। ‘उडान गरिहालेमा पनि दिनको २ देखि ३ घन्टा मात्र गर्ने गरेका छन्,’ एक निगम सञ्चालक सदस्यले भने, ‘बैठकमा अध्यक्षले कुरै नसुन्ने र निर्णय नै नमान्ने हुँदा बेथिति बढेको छ।’
जहाज सञ्चालनमा नभएको अवस्थामा करारका कर्मचारी कटौती गर्ने प्रस्ताव सञ्चालक समितिमा उठे पनि कार्यकारी अध्यक्ष अधिकारीले बेवास्ता गरेको ती सञ्चालकको गुनासो छ। हाल निगममा १ हजार ४ सय बढी कर्मचारी छन्। तीमध्ये आधाभन्दा बढी करार र ज्यालादारी हुन्।