काठमाडौं। जनकपुर विमानस्थलबाट दिउँसो ४ बजेर ३९ मिनेटमा उडेको बुद्ध एयरको (एन‑एएनएच) जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्यो। ६२ जना यात्रुसहित आएको एटिआर जहाज सुरक्षित अवतरण गरेर सबै यात्रुहरु विमानस्थलतर्फ लागे।
सबै यात्रुहरु झरेपछि पाइलटले जहाजको पोष्ट फ्लाइट चेकजाँच गर्न थाले। जब पोष्ट फ्लाइट जाँच गरे। त्यो बेला देखे कि अगाडिको एउटा पांग्रा (नोज ह्वील) छैन। जब ती पाइलटले एउटा पांग्रा नभएको देखेपछि आफ्नो टिमलाई खबर गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि एउटा पांग्राबिना जहाज अवतरण भएको खबर पायो। आफ्नो टीम पठाएर तत्कालै जहाज ग्राउण्डेड गर्यो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पांग्राबिना जहाज अवतरण भएको खबर पाउनेवित्तिकै सेफ्टीको टीम गएर जहाज ग्राउण्डेड गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
‘कुनै दुर्घटना भएन सबैभन्दा राम्रो विषय यो हो,’ सूचना अधिकारी भुलले भने, ‘कसरी पांग्रा खस्यो र छुट्यो भन्ने विषयमा अध्ययन अगाडि बढाइसकेका छौँ।’
सोधखोज गर्दै जाँदा जहाजको पांग्रा जनकपुर विमानस्थलको रनवेमा भेटिएको छ। ‘जनकपुर विमानस्थलको रनवे टर्निङ प्याडमा सो टायर भेटिएको छ,' उनले भने, 'उड्न लाग्दा पांग्रा झरेको हुन सक्छ, थप अध्ययनपछि मात्र भन्न सकिन्छ।’
पांग्रा झरेको पाइलटले किन थाहा पाएन?
जहाज सुरक्षित अवतरण भएपछि अहिले जहाजको पांग्रा कसरी खस्यो र पाइलटले किन थाहा पाएन भन्ने प्रश्न उठ्न थालेको छ। प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार ल्याण्डिङ गियरको इन्डिकेसन प्रणाली ककपिटमा नदेखिने भएकाले चालक दललाई उडानका क्रममा पांग्रा खसेको थाहाँ नभएको हुन सक्छ।
तर, जहाजले टेकअप लिइरहँदा केही महसुस भने पाइलटले गर्नुपर्ने हो। यसमा पाइलटसँग पनि स्पष्टीकरण लिने काम सेफ्टीले गरेपछि मात्र बाँकी कुरा आउने उनले जानकारी दिए।
कसरी भयो त सुरक्षित अवतरण
एउटा पांग्रा खस्दा पनि कसरी सुरक्षित अवतरण भयो त भन्ने प्रश्न उब्जिन थालेको छ। जानकारका अनुसार जहाज अवतरणको क्रममा सुरुमा पछाडिको पांग्रामा बढी प्रेसर पर्ने र अगाडिको थोरै मात्र प्रेसर पर्ने भएकाले एउटा पांग्राको भरमा अवतरण भएको हो।
दुवै पांग्रा चाहिन्छ। तर ब्यालेन्स मिलेकाले कुनै समस्या नआएको हुन सक्छ। यदि, दुवै पांग्रा झरेको भए अवतरण गर्न गाह्रो हुने थियो।