काठमाडौं। जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेसनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिज्म मिनिस्टर अफ द एयर)अवार्डबाट सम्मानित गरिएको छ।
पर्यटनसँग सम्बद्ध विश्वका करिब पाँच हजार बढी स्टल र सयौंको संख्यामा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको ‘वल्र्ड टुरिज्म एन्ड एभियसन समिट–२०२५’ अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ’टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्डबाट सम्मानित गरिएको हो।
पाण्डे यस किसिमको पुरस्कार पाउने नेपालको पहिलो पर्यटनमन्त्री बनेका छन्।
कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको थियो।
मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमालगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरेबापत अवार्ड दिइएको हो।
सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ।
ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीले प्रतिक्रिया दिएका छन्।
नेपालको पर्यटन प्रबद्र्धनमा पु¥याएको योगदानका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरिएकाले यो अवार्ड नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको बताइएको छ।
अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो। यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मिहिनेत गरिरहेका सरोकारवाला निकायलाई गरिएको सम्मान हो। नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।’
मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको बताए। ‘प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु मुख्य लक्ष्य हुनेछ’, मन्त्री पाण्डेले भने।
मन्त्री पाण्डेले पर्यटनलाई समुदायमैत्री बनाउन, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रवर्द्धन गर्न र हरित पूर्वाधारमा लगानी बढाउन काम भइरहेको जानकारी दिए।
‘हाम्रो नीति उत्तरदायी ट्रेकिङ, प्रमुख पर्यटन क्षेत्रमा फोहोर व्यवस्थापन, तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छ। साथै, कम चिनिएका गन्तव्यसम्म सहज पहुँच सुनिश्चित गर्दै पर्यटनबाट हुने लाभलाई समान रूपमा वितरण गर्ने हाम्रो प्रयास रहनेछ।’
यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट–२०२५ मा सहभागिता जनाएका थिए। ‘लगानी वृद्धि, शान्ति सुनिश्चितताः विकासको उपयोग, भविष्य निर्माण’ विषयक उक्त सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।