काठमाडौं। वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी र ती मन्त्रालयका सचिव सम्मिलित बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।
रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा नेपाली कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरूको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने भएकाले यस विषयमा छलफल गर्न मन्त्री राणाले संयुक्त बैठक आह्वान गरेकी हुन्।
बैठकमा मन्त्री राणाले भनिन्, 'नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन्। कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ। भोलि कोही समस्यमा परे उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ। त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा सोच्नुपर्छ ।'
बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष बनाइ संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गरे।
श्रम तथा रोजगार मन्त्री भण्डारीले श्रम कूटनीति अहिले नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृतिसम्बन्धी नवीकरण गरेर व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए।