काठमाडौं। विगत केही दिनदेखि लगानीकर्ताबीच बिमा कम्पनीले सेयर बजारमा ३० प्रतिशत लगानी गर्न पाउने गरी लगानी नियमावली संशोधन हुने हल्ला चलाएर मार्केट उचाल्ने काम भइरहेको छ।
अहिले बिमा कम्पनीले १० प्रतिशत लगानी पुँजी बजारमा गर्न पाउँछन्। तर, सीमित लगानीकर्ताले त्यो सीमालाई ३० प्रतिशत पुर्याउन लागेको भन्दै बजार ३ हजार २ सयको रेकर्ड तोड्ने हल्ला चलाएर बजार प्रभावित बनाइरहेका छन्।
नेपाल बिमा प्राधिकरणका अनुसार लगानी निर्देशिका संशोधन हुने भए पनि सेयरसम्बन्धी प्रावधान यतावत् राखिने छ। ‘नयाँ नयाँ लगानीका क्षेत्रहरु खुला गर्ने हो। तर, सेयर बजारमा लगानी गर्ने सीमा घट्न सक्छ, बढ्दैन,’ प्राधिकरणका उपनिर्देशक शम्भुराज लामिछानेले भने, ‘नयाँ क्षेत्रमा बिमाले लगानी गर्न सक्ने बाटो खोल्ने विषयमा छलफल भइरहेको छ।’
प्राधिकरणले संशोधन गर्न लागेको लगानी निर्देशिकालाई देखाएर सीमित लगानीकर्ताले सोझा लगानीकर्तालाई फसाउन लागेका छन्। ३० प्रतिशत सीमा पुर्याउँदा ठूलो लगानी बजारमा आउँछ। त्यसले पुँजी बजार बढ्छ भन्दै हल्ला गरिरहेका छन्।
प्राधिकरणको ‘बीमकको लगानी निर्देशका, २०७५’को व्यवस्थाअनुसार बिमा कम्पनीहरुले सुचीकृत कम्पनीहरुको सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। यस्तो लगानी बिमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भलाई आधार मानेर सोही सीमाभित्र मात्रै लगानी गर्छन्।
तर, यस्तो लगानी कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न नपाइने व्यवस्था बिमा प्राधिकरणले गरेको छ। यही लगानीको सीमा बढाउन लागेको भन्दै भ्रम फैल्याउने काम भइरहेको हो।
बिमा कम्पनीहरुको सेयर बजारमा लगानी बढ्ने आशामा बजार मूल्यमा समेत प्रभाव परेको देखिन्छ। बिमा कम्पनीहरुले हालसम्म अर्बौं रुपैयाँ विभिन्न सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गरेका छन्। संस्थागत रुपमा कुनै कम्पनीको सेयरमा ठूलो परिमाणमा दोस्रो बजारमार्फत् लगानी हुन्छ भने त्यसको प्रभावमा साधारण लगानीकर्ता पनि परिरहेको हुन्छन्।
बिमा नियमावली जारी भएसँगै पुराना विनियमाली तथा निर्देशनहरु सबै संशोधन गर्नुपर्ने आवश्यकता महशुस गरिएको हुँदा सोहीअनुसार काम भइरहेको प्राधिकरणका उपनिर्देशक लामिछाने बताउँछन्। पुराना नीति निर्देशन परिमार्जनमा बीमकको लगानी निर्देशिकका समेत संशोधनको तयारी गरिए पनि सूचीकृत कम्पनीको सेयरमा लगानी दायरा बढाउने विषयमा कुनै तयारी नभएको उनको भनाइ छ।
‘बिमा नियमावली आएपछि पुराना निर्देशिकाहरु सोहीअनुसार संशोधन तथा परिमार्जन गर्नुपर्ने हुन्छ। हामी तयारी गरिरहेका छौँ। तर, लगानी निर्देशिका संशोधन गर्दा कम्पनीहरुले सेयर बजारमा गर्न पाउने लगानीको सीमा बढाउने सम्भावना छैन,’ प्राधिकरणका उपनिर्देशक लामिछानेले भने, ‘लगानीका क्षेत्र बढाउने र अन्य उत्पादनशील क्षेत्रमा दायरा बढाउने विषय आउन सक्छन्। तर, सेयर बजारको विषयमा भने पुरानै नीति कायम हुन्छ।’
प्राधिकरणको सम्बन्धित विभागबाट लगानी निर्देशिकाको संशोधित मस्यौदा तयार गरिरहेको छ। मस्यौदामा सूचीकृत कम्पनीको सेयरमा बिमा कम्पनीहरुले गर्ने लगानीको दायरा बढाउने विषय नसमेटिए पनि प्राधिकरण सञ्चालक समितिबाट उक्त विषय समेटिएको अवस्थामा परिवर्तन हुन सक्ने उनको अनुमान छ।
हालसम्म बिमा कम्पनीहरुले ३० अर्ब २३ करोड ६३ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन्। जसमध्ये जीवन बीमा कम्पनीहरुले २५ अर्ब ७७ करोड ७ लाख, निर्जीवन बिमा कम्पनीहरुले सूचीकृत कम्पनीको सेयरमा ४ अर्ब ३९ करोड ७ लाख, लघु जीवन बिमा कम्पनीहरुले ७ करोड ३१ करोड र लघु निर्जीवन बिमा कम्पनीहरुले १८ लाख सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गरेका हुन्।