काठमाडौं। ‘नेपाल बिजनेस समिट’को दोस्रो संस्करण आगामी २०८२ साल वैशाख ७ गते (अप्रिल २०) मा हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक हुने सम्मेलनबारे चेम्बर अर्फ कमर्स (एनसिसी) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच सम्झैता भएको हो।
दिगो र लचिलो भविष्यका लागि अर्थतन्त्र भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग/व्यवसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रमा देखिएका विषयबारे केन्द्रित रहेर सम्बन्धित विषय/क्षेत्रका स्वदेशी तथा विदेशी विज्ञ तथा उदयमान युवा तथा महिला उद्यमीबीच अन्तरक्रिया गरिने छ। यस क्रममा बहस सत्रबाट प्राप्त हुने दूरगामी महत्वका बहुपयोगी सुझाव समावेश भएको निष्कर्ष प्रतिवेदन बनाएर उचित कार्यान्वयनका लागि सबै तहका सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्र्दभमा आयोजना हुन लागेको सम्मेलनले सबै तहका सरकार र समग्र निजी क्षेत्रबीच विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने विश्वास व्यक्त गरे।
एनबिआईका कार्यकारी अध्यक्ष तथा सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्न सम्मेलन केन्द्रविन्दु बन्ने बताए। उनले बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वन पैदावार, प्रविधिजस्ता क्षेत्रको फराकिलो आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका हुने बताए।
समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/संचालक तथा उच्च अधिकारीलगायतको करिब पाँच सयभन्दा बढीको सघन सहभागिता हुने अपेक्षा गरिएको छ।