काठमाडौं। केही समय अघिसम्म सबैजसो अटो ब्रान्डको ब्रान्ड एम्बेसडरमा चलचित्रकर्मी र सेलिब्रिटीहरु हुने गर्थे। अधिकांश अटो कम्पनीले आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा चलचित्र क्षेत्रमा ख्याति कमाएका कलाकारलाई प्राथमिकता दिन्थे। तर,पछिल्लो समय यो शैली बदलिँदै गएको छ।
विगतमा कलाकारलाई मात्रै ब्रान्ड एम्बेसडरको रुपमा अगाडि सार्ने अटो उद्योगले पछिल्लो समय खेल क्षेत्रका खेलाडीलाई पनि समेट्दै जान थालेका छन्। कुनै पनि ब्रान्ड तथा उद्योगले आफ्ना उत्पादन र सेवातर्फ उपभोक्तालाई आकर्षित गराएर बजार हिस्सा बढाउन ब्रान्ड एम्बेसडर नियुक्त गर्छन्।
केही वर्ष अगाडिसम्म इन्धन गाडीबीच तीव्र प्रतिस्पर्धा हुने गरेकामा अहिले विद्युतीय सवारीसाधन (ईभी)मा उच्च प्रतिस्पर्धा छ। अन्य प्रतिस्पर्धीको तुलनामा अब्बल ठहरिन अटो ब्रान्डहरुले नाम चलेका कलाकार÷खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्ने क्रम जारी छ।
हाल ईभी ब्रान्ड बढेसँगै ब्रान्ड एम्बेसडरको रुपमा धमाधम खेलाडीहरु नियुक्त हुँदै गएका छन्। खासगरी पछिल्लो केही वर्षयता फुटबल, क्रिकेटजस्ता खेलमा नेपालीको चासो बढ्दै गएको छ। नाम चलेका खेलाडीलाई सामाजिक सन्जाल तथा विभिन्न प्लेटफर्ममा फलो गर्ने र खेल हेर्नैका लागि रंगशालासम्म धाउने संख्या बढ्दो छ।
खेल क्षेत्रप्रतिको बढ्दो लोकप्रियतालाई हेरेर नै आफ्नो ब्रान्ड प्रमोसन गर्न खेलाडीलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले जानकारी दिए। पछिल्लो समय क्रिकेटमा बढ्दो क्रेजलाई ध्यानमा राखेर क्रिकेट संघका सचिव पारस खड्कालाई दिपल गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको उनले बताए।
सामान्यतया कम्पनीहरुले ३ वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा लोकप्रिय कलाकार÷खेलाडीलाई नियुक्त गर्ने गर्छन्। त्यसपछि सोही व्यक्तिलाई निरन्तरता दिन वा परिवर्तन गर्न सक्ने ठाउँ हुन्छ।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को पुरुष टी–२० अलराउन्डरमा दोस्रो वरीयतामा रहेका दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिएको जानकारी दिए।
‘आफ्नो कुशलता र पर्फर्मेन्समा सदैव उच्च तस्तरको लगाव राख्ने ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित छौं’, शारडाले भने, ‘आक्रामक ब्याटिङ र बलिङका लागि परिचित ऐरीसँगको प्रायोजन सम्झौताले नेपाली क्रिकेट र अटोमोबाइल क्षेत्र दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छु।’
हाल नेपालमा चलेका ईभी ब्रान्डले खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको देखिन्छ। दिपल, ओमोडा जेक्को, लिपमोटर तथा सिट्रोनजस्ता ब्रान्डको ब्रान्ड एम्बेसडरमा अहिले खेल क्षेत्र चम्काइरहेका खेलाडीको वर्चस्व पाउन सकिन्छ। अटो क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउने क्रम बढ्दै गएको छ।
खेलाडी ब्रान्ड एम्बेसडर भएका अटो ब्रान्ड
दिपल
दिपल गाडीको ब्रान्ड एम्बेसडरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का छन्। नेपालमा दिपल, सेरेस, नामी, फोटोन, सोकोनलगायत ब्रान्ड बिक्री गर्दै आएको एमएडब्लू वृद्धि अटोकर्पले २०८१ असोजमा खड्कालाई दिपल गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो। दिपल गाडीको ब्रान्ड एम्बेसडर हुनुअघि खड्का महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर थिए।
ओमोडा तथा जेक्को
विद्युतीय ब्रान्ड ओमोडा तथा जेक्को ब्रान्डको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दिपेन्द्र सिंह ऐरी छन्। नेपालमा ओमाडा तथा जेक्को गाडीको आधिकारिक वितरक शारडा ग्रुपअन्तर्गतको एसपीजी अटो मोबाइल्सले गत पुसमा ऐरीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो।
कम्पनीले ऐरीसँग तीन वर्षका लागि सम्झौता गरेको छ। नेपाली क्रिकेट टोलीका सदस्य ऐरीलाई नेपाल प्रिमियम लिगमा जितेका गाडी हस्तान्तरण गर्दै ऐरीलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो।
लिपमोटर तथा सिट्रोन
लिपमोटर तथा सिट्रोन गाडीको ब्रान्ड एम्बेसडरमा नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल छन्। नेपालमा लिपमोटर सिट्रोन र प्युजोको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले पौडेललाई लिपमोटर र सिट्रोन गाडीको आधिकारिक ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
कलाकार ब्रान्ड एम्बेसडर रहेका अटो ब्रान्ड
हिरो मोटरसाइकल
हिरो मोटरसाइकल तथा स्कुटरको ब्रान्ड एम्बेसडर कलाकार छन्। नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले हिरोको ब्रान्ड एम्बेसडरमा सुरक्षा पन्त, सुशान्त केसी र दयाहाङ राईलाई नियुक्त गरेको छ।
कम्पनीले तीन कलाकारलाई फरक–फरक मोडलका स्कुटर तथा मोटरसाइकलको एम्बेसडरको भूमिका दिएको हो। सुरक्षालाई हिरो जुम स्कुटर, दयाहाङ राईलाई स्प्लेन्डर र सुशान्त केसीलाई एक्सपल्सको एम्बेसडरको भूमिकामा नियुक्त गरेको हो। कम्पनीले कलाकारलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरे पनि ती कलाकारले हिरो मोटरसाकइल तथा स्कुटर प्रयोग गरेको पाइँदैन।
बिवाईडी
विद्युतीय ब्रान्ड बिवाइडीको ब्रान्ड एम्बेसडरमा कलाकार हरिवंश आचार्य छन्। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले कलाकार हरिवंशलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। कम्पनीले आचार्यलाई २०७९ जेठमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो।