काठमाडौं। अहिले सर्वत्र चासोको विषय छ–नेपाल राष्ट्र बैंकको गभर्नर कसको भागमा पर्छ र को बन्छ? बजारमा अनेकथरी आकलन भइरहेका छन्।
सत्ता साझेदार दलभित्र पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत गभर्नरको पद कसको भागमा छ भन्ने थाहा छैन। किनभने, एकअर्काले गभर्नरबारे केही संवाद गरेका छैनन्।
केही दिनअघि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलगायत सीमित नेताबीच अनेकन विषयमा छलफल भए। छलफलका क्रममा नयाँ गभर्नरको विषयले पनि प्रवेश पाएको थियो।
पछिल्ला नियुक्तिमा कांग्रेसले बाजी मार्दै आएको छ। खासगरी नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र काठमाडौं विश्व विद्यालयको उपकुलपति नेपाली कांग्रेसको भागमा परिसकेको छ। एमालेले काँग्रेसले धेरै नियुक्ती लिइसकेकाले अब हुने नियुक्ती एमालेको भागमा हुनुपर्छ भन्ने मान्यता राखेको छ । तर गभर्नर नियुक्तिमा पार्टीभित्र नयाँ धार उदाएको भन्दै ओलीले त्यसमा कम चासो दिएका छन्। यसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको इच्छा प्रमुख कारण रहेको छ।
अहिलेसम्म काँग्रेसले पाएको नियुक्तीमा देउवा भने खास सिरियस छैनन् ।
‘यतिसम्म कि ती संस्थाको काम, कर्तव्य र अधिकारबारे समेत देउवा जानकार हुनुहुन्न,’ बैठकमा सहभागी एक नेताले भने, ‘देउवाको बुझाइमा ती संस्थाहरू अर्थ मन्त्रालयका शाखाका रुपमा रहेका छन्।’
अन्य नियामकभन्दा केन्द्रीय बैंक बढी स्वायत्त र शक्तिशाली छ। मुलुकको आर्थिक नीतिलाई सफल बनाउन मौद्रिक नीति जारी गर्ने ठाउँ हो केन्द्रीय बैंक। विगत केही समयदेखि आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिल्दा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको यथार्थ छ। विश्व परिवेशले पनि केन्द्रीय बैंकको गभर्नरको भूमिका र महत्त्व अझ बढाएको छ।
केन्द्रीय बैंकको नीतिले मुलुकको अर्थतन्त्र शिथिल बन्ने कि चलायमान हुने भन्नेमा भर पर्छ र परेको छ। सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्न मौद्रिक नीतिको सहयोग आवश्यक पर्छ। देशको अर्थतन्त्र उकास्न उल्लेखनीय योगदान गर्ने निकायको प्रमुख कांग्रेसको भागमा पर्ने कि एमालेमा भन्ने टुंगिएको छैन।
ओली इच्छा
ओली राष्ट्र बैंकको गभर्नर आफू नराख्ने पक्षमा छन्। उनी चाहन्छन्, नेपाली कांग्रेसले नै गभर्नर राखोस्। ओली यस्तो विचार राख्नुका पछाडि एमालेको भागमा गभर्नर पर्नेबित्तिकै विद्या भण्डारी हाबी हुने र उनले भनेको व्यक्ति गभर्नर बनाउनुपर्ने दबाब ओलीसामु आउँछ।
एमालेभित्र गनर्भरको दौडमा रहेका डा. प्रकाशकुमार श्रेष्ठ, निलम ढुंगाना, बमबहादुर मिश्र, अशोक शेरचनलगायत छन्। एमालेमा एकदमै धेरै गभर्नरका आकांक्षी छन्। त्यसो हुँदा ओलीले म्यानेज गर्न नसक्ने अवस्था छ। उनले भण्डारीको आग्रहलाई बेवास्ता गर्नेबित्तिकै पार्टीभित्र ठूलो आलोचना हुने देखिन्छ।
भण्डारीले ढुंगानालाई बोकेको बुझाई ओलीमा रहेको छ । ढुंगाानाले दुईपटक भण्डारीसँग भेटेर कुरा गरेपछि ओलीले यसमा अनिइच्छा देखाएका हुन् ।ओलीले आफुले रोजेको व्यक्ति भण्डारीले स्विकार गरेमा एमालेकै नाम सिफारिस गर्ने मनशायमा भने छन् । यसमा भण्डारी र ओलीको साझा व्यक्तिको पनि खोजाई पनि भएको छ ।
देउवाले बुझेनन् गभर्नरको ‘भ्यालु’
ओली कांग्रेसले गभर्नर राखिदियो भन्ने चाहन्छन्, देउवा माग्दैनन्। देउवाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको शाखाको रुपमा मात्रै बुझेका छन्। स्रोतका अनुसार देउवालाई नेपाल प्रहरीको महानिरीक्षक ठूलो लाग्छ, केन्द्रीय बैंक त्योभन्दा सानो।
केन्द्रीय बैंकले बारम्बार सरकारलाई अप्ठेरो पारिदिएको त्यति सम्झना छैन। देउवा आफैं प्रधानमन्त्री भएका बेला हालका गभर्नर महाप्रसाद अधिकारीले असहयोग गरेको र असहयोग गरेकै कारण हटाउनेसम्मको निर्णय गरेका थिए। त्यसबेला देउवाले आफू निकट नेतालाई गभर्नरले धेरै दुःख दियो, हटाएर नयाँ ल्याउने भनेका थिए।
अर्थात्, गभर्नर चाहे भने कतिसम्म दुःख दिन्छन् भन्नेमा देउवा राम्रोसँग जानकार छन्। तैपनि ओली कार्यकाललगत्तै आफैं सरकारको नेतृत्व गर्नेछन्, त्यसमा लागि पनि उनले गभर्नर आफूअनुकूल ल्याउनुपर्छ।
तर, देउवाले चासाे नदेखाए पनि बूढानीलकण्ठ निवासमा आकांक्षीहरुको बाक्लाे भीड लाग्न भने थालिसकेकाे छ। कांग्रेसबाट गभर्नरमा आकांक्षी डा. गुणाकर भट्ट, सन्तोष कोइराला, ज्ञानेन्द्र ढुंगानालगायत छन्।