काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयू)का उपकुलपति भोला थापाविरुद्ध प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। थापाविरुद्ध गौतमकुमार झाले लेखासमितिमा उजुरी दिएका हुन्।
उजुरीमा थापाले आफ्ना भाइ सुदीप थापा, बुहारी भावना केसी र परिवारका अन्य सदस्यका नाममा दर्ता भएका एड प्याड, एएनएस इन्कर्पाेरेसन, स्तुति मार्टलगायतका करिब आधा दर्जन कम्पनीमार्फत विज्ञापन, प्रचारप्रसार, इभेन्ट म्यानेजमेन्ट, उपकरणदेखि क्यान्टिनसम्मको सामान खरिदमा आर्थिक नियम पालना नगरेको उल्लेख छ।
उपकुलपति थापाले आफ्न भाइलाई स्थायी ठेकेदार बनाएर करोडौं रुपैयाको भष्ट्रचार गरेको भन्दै क्यापिटल नेपालले निरन्तर समाचार प्रकाशन गरिरहेको थियो। विश्वविद्यालयले सामान खरिद, बोलकबोल र ठेक्कापट्टा आदि कार्यका लागि काठमाडौँ विश्वविद्यालय आर्थिक नियम, २०४९ अनुरूप गर्ने भनिएको छ।
विश्वविद्यालय आफ्नै स्रोतबाट चल्ने र सरकारी बजेट खर्च नहुने कारण देखाएर सार्वजनिक खरिद ऐन पालना गर्नु नपर्ने जिकिर र व्याख्या त्यहाँका पदाधिकारीले आफ्नो सुविधाअनुसार गर्ने गरेका छन्।
तर, विश्वविद्यालयको सम्पूर्ण बजेटको औसत ८ देखि १० प्रतिशत रकम योजना एवं पूर्वाधार विस्तारका लागि अनुदानका रूपमा बर्सेनि सरकारी ढुकुटीबाट लैजाने गरेको छ। चालू आर्थिक वर्षमा २२ करोड रुपैयाँ सो विश्वविद्यालयका नाममा भएको विनियोजन रातो किताबमा परेको छ।
असल नियतले काम गर्ने हो भने विश्वविद्यालयको आफ्नै आर्थिक नियम, २०४९ ले व्यवस्था गरेका प्रावधान पनि पारदर्शी कारोबारका लागि पर्याप्त छन्।
खासगरी संस्थापक रजिष्ट्रार सीताराम अधिकारीका पालामा बनेका र पछि आधा दर्जन पटक संंशोधनसमेत गरिएका आर्थिक प्रशासनलगायतका कैयाैं नियमलाई अधिकारीले विश्वविद्यालय छोडेपछिका उपकुलपति र रजिस्ट्रारले पालना नगरेका मात्रै होइनन्, आफ्नो स्वार्थसिद्धिका लागि निरन्तर उल्लंघन गरेका छन्। सीधै स्वार्थ बाझिने गरी मनोमानी तवरले आफन्तलाई ठेक्का दिने र सकेसम्म नियम मिलाएजस्तो गरी खरिद गरेका छन्।
अहिले उपकुलपतिमा जसरी पनि दोहाेरिन कसरतमा रहेका भोलाले स्वार्थ र नैतिकताका सबै सीमा पार गरेको देखिन्छ। भाेलाले २०६५ साउनमा स्कुल अफ इन्जिनियरिङको डिन नियुक्ति भएदेखि नै विश्वविद्यालयबाट हुने वस्तु तथा सेवा खरिद आफ्ना सहोदर भाइ सुदीपमार्फत गराउन थालेका थिए।
यो पनि पढ्नुस्
केयूमा करोडौंको भ्रष्टाचार, भिसीका भाइ ‘स्थायी’ ठेकेदार’