काठमाडौं। सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक एवम् बाह्य उडान अस्तव्यस्त बनिरहेको छ। निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा आक्रामक बनिरहेको बेला निगमले भने हालकै गन्तव्यमा नियमित उडान भर्न सकिरहेको छैन।
अहिले हिमालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा उडान तयारी गरिरहेको छ भने निगमले अस्ट्रेलिया उडान गर्ने भनेको वर्षौ भइसकेको छ। आन्तरिक उडान ठप्प राखेको निगमले अन्तर्राष्ट्रिय उडानतर्फ वाइडबडी र न्यारोबडी जहाजलाई ग्राउण्डेड गर्दै उडाउने गरेको छ। त्यसको मतलब निगमको उडान अस्तव्यस्त नै हो।
यति मात्र होइन, निगमले जहाज खरिद गरेको ऋण समेत तिर्न सकिरहेको छैन। त्यसको दैनिक रुपमा ब्याज बढेर अकास छुन थालिसकेको छ। भद्रगोल अवस्थामा रहेको निगमलाई सुधार गर्ने प्रतिबद्धता हरेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरुले नदिएका पनि हैनन्। तर, नियुक्तिका बेला निगम सुधारका लागि चर्काचर्का आवाज निकाल्ने तिनै मन्त्रीहरुकाे समय बित्दै जाँदा स्वर सुक्ने गर्छ।
नियुक्तिलगत्तै चर्को आवाज निकाल्ने र पछि स्वर लुकाउनेमध्येमा हालका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पर्छन्। त्यसलगत्तै पर्यटनमन्त्री पाण्डेले अस्तव्यस्त निगमको हालत टुलुटुलु नहेर्ने र सुधार गरी छाड्ने प्रतिबद्धता जनाएको ८ महिना हुन लागिसक्यो। तर, मन्त्री पाण्डेले निगम सुधारका लागि हालसम्म कुनै पनि कदम नचालेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए।
‘अहिले मन्त्रीज्यूले निगम सुधारका लागि कुनै पहलकदमी चाल्नुभएको छैन, कर्मचारीले उडान अस्तव्यस्त भएको जानकारी गराउँदा पनि बेवास्ता गर्नुहुन्छ,’ती सहसचिवले क्यापिटल नेपालसँग भने, ‘उहाँ सुरुमा गरम हुनुभयो, अहिले नरम हुनुभएको छ।’
अहिले दैनिकजसो निगमको जहाज डिले हुने र यात्रुले दुःख पाउने नियमितजस्तै भइसकेको छ। निगमका एक उच्च अधिकारीका अनुसार मन्त्रीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई खुला रुपमा छोड्दा समस्या आएको छ।
‘मन्त्री र कार्यकारी अध्यक्षबीच के कुरामा सहमति भएको हो, त्यो थाहा भएन,’ निगमका ती उच्च अधिकारीले भने, ‘केही समय अघिसम्म नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बरु सोधखोज गरिरहेको हुन्थ्यो, अहिले त्यो पनि छाडिसक्यो।’
मन्त्री मिलाउन खप्पिस अधिकारी
हुन त, युवराज अधिकारी निगमबाट सेवानिवृत्त कर्मचारी हुन्। सोही कारण उनलाई कुन राजनीतिक दलका कुन नेतालाई कसरी मिलाउने भन्ने ज्ञान राम्रो छ। मन्त्री तथा सचिव उग्र भएर लाग्छन्, तिनलाई केही समयपछि नै नरम बनाइहाल्छन्। यसरी नरम बनेका पर्यटनमन्त्रीमा बद्री पाण्डे मात्र पहिलो नाम भने हैन। यसअघिका मन्त्रीद्वय प्रेम आले र सुदन किरातीलाई समेत नरम बनाउन सफल भएका व्यक्ति हुन्। साेही कारण सुरुमा चर्को आलोचना गर्ने र पछि नरम भएर मन्त्रालयबाटै बिदा हुने गरेका छन्।
प्राधिकरण टुक्र्याउने मुख्य एजेन्डा
अहिले पर्यटनमन्त्रीको मुख्य एजेन्डा नै प्राधिकरणलाई नियामक र सेवाप्रदायक बनाउने मात्र रहेको बताइएको छ। ‘अहिले मन्त्रीज्यूको ध्याननै प्राधिकरण वर्षाैदेखि टुक्र्याउन नसकेको प्राधिकरणलाई दुई वटा बनाउने र आफ्नो प्रमुख उपलब्धिको रुपमा राख्ने योजनाअनुसार काम गरिरहनुभएको छ,’ मन्त्री निकट एक कर्मचारीले भने, ‘जसको कारण निगमको गतिविधिमा कुनै ध्यान दिन सक्नुभएको छैन।’