काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बैंकको ब्याज बक्यौता भुक्तानी गर्न सुरु गरेको छ। कोषले करिब ३ महिनादेखि रोकेको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानी गर्न सुरु गरेको हो।
सरकारद्वारा सञ्चालित कोषले हालसम्म विभिन्न ३४ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ८२ करोड रुपैयाँ ऋण लिएको छ। बैंक तथा वित्तीय संस्थाले नियामकले तोकेको निर्देशित कर्जामध्ये विपन्न वर्ग कर्जा युवा स्वरोजगार कोषमार्फत पनि प्रवाह गर्छन्। अन्य ऋणीलाई भन्दा दोब्बर सस्तोमा कोषलाई ऋण दिएका बैंकले गत कात्तिक मसान्त यता ब्याज भुक्तानी गरेको थिए। कोषले त्रैमासिक रुपमा भुक्तान गर्नु पर्ने बैंकको ब्याज विभिद् कारण देखाउँदै पुस मसान्तमा भुक्तानी नगरी रोकेको थियो।
गत पुस मसान्तमा कोषले बैंकलाई ३ करोड ३४ लाख रुपैयाँ ब्याज भुक्तानी गर्नु पर्ने थियो। तर, कोषले गत पुसको पहिलो सातादेखि नै कार्यालयमा लेखाशाखा प्रमुख नभएको भन्दै देखाएर बैंकलाई ब्याज भुक्तानी रोकेको थियो।
सरकारद्वारा सञ्चालित कोषले नै जनताको पैसाबाट लिएको ऋण वापत ब्याज नपाएपछि बैंकले सरकार र नियामक राष्ट्र बैंकमा समेत गुनासो गरेपछि कोषले बाध्य भएर ब्याज भुक्तानी गरेको छ।
युवा तथा खेलकुद मन्त्रालय अन्तरगर्तको स्वरोजगार कोषमा विगत ३ महिनायता लेखा शाखा प्रमुखविहिन हुँदा बैंकलाई ब्याज भुक्तानी गर्न नसकेको र अहिले उक्त शाखामा लेखा अधिकृत आएको हूँदा भुक्तानी गर्न सुरु गरिएको कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारीले बताए। कोषमा महालेखा नियन्त्रकको कार्यालयबाट लेखा प्रमुखको रुपमा पठाइने उपसचिव नपठाएपछि कोष तथा लेखा नियन्त्रकको कार्यलयबाट लेखा अधिकृत माग गरी बक्यौता भुक्तानी गर्न सुरु गरिएको अधिकारीले जानकारी दिए।
‘एक साता अघिदेखि बैंकलाई ब्याज भुक्तानी गर्न शुरु गरेका छौं, महा लेखाबाट उपसचिव लेखा शाखा नआउँदा भुक्तानी गर्न सकेका थिएनौं,’ कोषका कार्यकारी निर्देशक अधिकारीले भने, ‘कोलोनिकाबाट लेखा अधिकृत मगाएर भएपनि हामीले बैंकको पैसा दिन सुरु गरेका छौं। बक्यौता भुक्तानी माग गर्ने १० वटा बैंकले भुक्तानी पाइसकेका छन्।’
महालेखाको समन्यवमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले स्वरोजगार कोषमा लेखा अधिकृतको रुपमा गत साता अन्जु न्यौपाने आएपछि मागदाबी परेको बैंकको ब्याज भुक्तानी भइरहेको अधिकारीले जानकारी दिए।
स्वरोजगार कोषमा महालेखा नियन्त्रकको कार्यालयबाट उपसचिवलाई लेखा शाखा प्रमुखको रुपमा पठाउने गरिएको थियो। गत पुस मसान्त अगावै महालेखाले कोषमा लेखा शाखा प्रमुख रहेका नवराज घिमिरेलाई सरुवा गरेको थियो। त्यसयता कोषमा महालेखाबाट लेखा सचिव पठाउन नसकेपछि कोलोनिकाबाट लेखा अधिकृत माग गरी भुक्तानी सुरु गरिएको अधिकारीले बताए।
कोषमा ५४ जना कर्मचारी दरबन्दीमा हाल ४८ जनामात्रै कार्यरत छन्। कोषको कार्यकारी उपाध्यक्ष, अकाप्र तथा सुचना प्रमुख, लेखा शाखा प्रमुख, तालिम शाखा प्रमख र २ सहायक प्रथमको पद रिक्त रहेको छ। कोषमा कार्यकारी उपाध्यक्ष र कोषको महत्वपूर्ण शाखाको पद रिक्त हुँदा लक्ष्य हासिल गर्न समस्या भएको देखिन्छ।