काठमाडौं। सेयर बजारमा ३० अंकको गिरावट आएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १३.६२ अंकले घटेको थियो। त्यसअघिको नौ कारोबार दिन भने नेप्से लगातार सकारात्मक रहँदै २१२ अंकले बढेको थियो।
मंगलबार कारोबार रकममा पनि कमि आएको छ। आज नेप्सेमा कुल १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन सोमबार भने कुल १४ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, आइतबार कुल १४ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये ४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो सँगै गार्डियन माइक्रोलाइफको सेयर मुल्यमा लगातार १६ कारोबार १० प्रतिशतको दरले वृद्धि भएको छ।
मंगलबार सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य १.०५ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशत, जलविद्युत् समूहको १.०८ प्रतिशत र लगानी समूहको सेयर मूल्य १.७५ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य ०.६९ प्रतिशतले घट्दा उत्पादन समूहको २.२१ प्रतिशत, लघुवित्त समूहको १.४१ प्रतिशत र निर्जीवन बिमा समूहको १.११ प्रतिशतले घटेको छ।