काठमाडौं। नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण ‘लोन पोर्टफोलियो रिभ्यू’ गर्न दोस्रो पटक लेखापरीक्षक कम्पनी ‘सर्टलिस्ट’ गरेको छ।
केन्द्रीय बैंकले पहिलो पटक छनोट गरेको लेखापरीक्षण अयोग्य भएको भन्दै दोस्रो पटक प्रकृया सुरु गरी ६ वटा कम्पनीलाई पुनः सर्टलिस्ट गरेको हो।
राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाल, श्रीलंका, बंगलादेशका एक÷एक वटा र भारतका ३ वटा गरी ६ वटा अडिट कम्पनी सर्टलिस्ट गरेको जानकारी दिएको हो। दोस्रो पटक अडिट कम्पनी छनोट गर्दा राष्ट्र बैंकले पहिलो छनोट प्रकृयामा अयोग्य भएका कम्पनीलाई पनि सर्टलिस्ट गरेको छ।
दोस्रो पटकको छनोट प्रकृयामा श्रीलंका कोलम्बोको डेलोइट पार्टनर्स, बंगलादेश ढाकाको हौलादर युनुस एण्ड कम्पनी, भारत मुम्बाइको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस, भारत न्यू दिल्लीको मेह्रा–जेकेउसएस–एसएसबीडीआई–जेभी, भारत गोरेगाँव, मुम्बईको एमएसकेए एन्ड एसोसिएट्स र नेपालको बीके अग्रवाल एन्ड कम्पनी, सब–कम्पनी रहेको भारत पश्चिम बंगालको एसआरबीए एन्ड बीके कम्पनी छनोट भएको हो।
गत वर्षमै पहिलो पटक १० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यूका लागि आवेदन मागेर एक महिनापछि ५ वटा कम्पनीलाई सर्टलिस्ट गरिएको थियो।
यिनमा विदेशी लेखापरीक्षकतर्फ नेदरल्यान्डको डेलोइट फाइनान्सियल एडभाइजर वीभी, भारतको केपिएमजी एसुरेन्स एन्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एन्ड थिए भने स्वदेशी लेखापरीक्षकमा जेभी एसआरबीए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सीएससी एन्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेड छनोट भएका थिए।
पहिलो पटक सर्टलिस्टमा पनि राष्ट्र बैंकबाट भारतीय केपीएमजी कम्पनी अन्तिममा छनोट परेको थियो। तर, केपीएमजीले राष्ट्र बैंकले लेखापरीक्षणका लागि छुट्याएको बजेटभन्दा बढी अटिड शुल्क मागेपछि प्रक्रिया रद्द भएको थियो। अहिले पनि केपीएमजी र एसआरबीए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्डसमेत सर्टलिस्टमा परेका छन्।