काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्न लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन्।
महासंघअन्तर्गतका विभिन्न वस्तुगत संघहरुको नवनिर्वाचित पदाधिकारीका लागि सोमबार महासंघमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा बौल्दै उनले सो धारणा राखेका हुन्।
अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र तिनलाई अवसरमा बदल्न सोहीअनुरुपको वातावरण आवश्यक भएकामा जोड दिए। ‘हामीकहाँ हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने अभ्यास छ। सकारात्मक दृष्टिकोणबाट हेर्दा स्वदेशमा पनि थुप्रै सम्भावना छन्। ती सम्भावनाबाटै हामीले स्वदेशमा रोजगार सिर्जना गर्न सक्छौं’, उनले भने।
स–सानो लगानीबाट पनि स्वदेशमा पुँजी निर्माण गर्न र उक्त पुँजी परिचालनबाट देशमा पूर्वाधारको विकास गर्न सकिने ठानेर महासंघको नेतृत्वमा १० अर्ब पुँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको उनले जानकारी दिए। अध्यक्ष ढकालले महासंघको पछिल्लो विधान संशोधनले वस्तुगत संघबाट महासंघमा प्रतितिधित्व गर्न थप अवसर सिर्जना गरेको बताए।
महासंघका वस्तुगत परिषद्तर्फका उपाध्यक्ष हेमराज ढकालले महासंघले वस्तुगत संघहरुका क्षेत्रगत समस्यालाई सम्बोधन गर्न निरन्तर पहल गरिरहेको धारणा व्यक्त गरे।
उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन र देशमा रोजगारी वातावारण सिर्जनाका लागि महासंघले सकृय रुपमा भूमिका निर्वाह गरेको बताए।
यसैगरी महासंघका एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि अर्थतन्त्र चलायमान हुन आवश्यक रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि वस्तुगत संघहरु थप सकृय रहनुपर्ने आवश्यकता औंल्याए।
सो अवसरमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा महासंघले तयार गरेका वस्तुगत संघहरुका लागि कार्य सञ्चालन विधि र कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिकाको विमोचन गरिएको थियो।
कार्यक्रममा विभिन्न वस्तुगत संघका सभापतिहरुले आ–आफ्नो संघका समस्या तथा ती समस्या समाधानका लागि महासंघले गर्नुपर्ने पहलबारेधारणा राखेका थिए।