काठमाडौं। हाल नेपाली अटो बजारमा एउटा कम्पनीसँग दर्जन बढी ब्रान्ड छन्। एउटै व्यवसायीले धेरै ब्रान्डका गाडी ल्याउँदा आफैले ल्याएका अर्काे ब्रान्ड भने ओझेलमा पर्दै गएका छन्। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण बढेसँगै एउटै कम्पनीले धेरै ब्रान्ड ल्याउने प्रतिस्पर्धा नै चलेको छ।
धेरै ब्रान्ड ल्याउने प्रतिस्पर्धामा अटो बजारमा स्थापित र नाम चलेका कम्पनीहरु छन्। नेपालमा सबैभन्दा बढी ब्रान्ड भित्र्याउनेमा सिजी मोटर्स, विशाल ग्रुप, एमएडब्लु वृद्धि, गोल्छा अर्गनाइजेसन, शारडा ग्रुपलगायतका कम्पनी छन्। यी कम्पनीहरुले एकपछि अर्काे मल्टीपल ब्रान्ड भित्र्याएकाले आफ्नै ब्रान्डहरु किल हुँदै गएका हुन्। एउटै कम्पनीले धेरै ब्रान्ड ल्याएकाले नेटा, सेरेस, सिट्रोन, केईलगायतका ब्रान्ड भने ओझेलमा पर्दै गएको देखिन्छ।
अहिले बजारमा चलेका र राम्रो बिक्री भएका ब्रान्ड प्राय नयाँ नै छन्। पछिल्लो समय उत्पादन भएर आएका प्रायः सबै ब्रान्डका गाडीहरुमा प्रिमियम फिचर छन्। नयाँ डिजाइन, प्रिमियम फिचर र सस्तो विकल्प भएका धेरै ब्रान्डहरु पनि हराउँदै गएका छन्।
यदि एउटै व्यवसायीले फरक–फरक ब्रान्डका गाडी ल्याउँछन् भने तिनको एक अर्कासँग प्रतिस्पर्धा हुन्छ। जसले गर्दा कम्पनीको बिक्रीमा असर पुग्छ। साथै, ग्राहकलाई पनि कुन ब्रान्ड राम्रो हो भन्ने बुझ्न कठिन हुन्छ।
नेपालमा आएका धेरै ब्रान्डहरु नेपाली बजारको लागि उपयुक्त नभएका कारण हराउँदै गएको नाडाका वरिष्ठ उपाध्यक्ष तथा जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन्। ‘कम्पनीहरुले धेरै ब्रान्ड आयात गरेर ब्रान्ड किल भएका होइन। नेपालको लागि उपयुक्त नभएका ब्रान्डहरु किल हुँदै गएका हुन्,’ गोल्छा भन्छन्, ‘एउटा कम्पनीले धेरै ब्रान्ड आयात गर्दा उसले देशैभरि शोरुमको पहुँच लैजान्छ। ग्राहकलाई पनि दुई तीन ब्रान्ड ल्याएर बिक्री वितरण गरिरहेका कम्पनीमाथि विश्वास गर्न सजिलो हुन्छ।’ व्यवसायीमाथि ग्राहकको राम्रो आश्वासन हुन्छ। र ग्राहकलाई पनि आफूले किनेको ब्रान्ड लामो समयका लागि छ भन्ने विश्वास हुने गोल्छाको भनाइ छ।
सबै ब्रान्डको आफ्नो छुट्टै र फरक खालको फिचर हुन्छन्। खरिद गर्ने ग्राहक फरक हुने भएकाले धेरै ब्रान्ड ल्याउँदा कुनै पनि ब्रान्ड ओझेलमा नपर्ने एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्त बताउँछन्।
चौधरी ग्रुपअन्तर्गकका ब्रान्ड
नेपालको अटोमोबाइल बजारमा सबैभन्दा धेरै ब्रान्डका सवारीसाधनको आयात तथा बिक्री गर्ने व्यावसायिक घराना सिजी मोटर्स हो। चारपांग्रे सवारीसाधनमा सिजीले ईभीका ब्रान्ड मात्र ल्याउँदै आएको छ।

हाल सिजी मोटर्सले जीएसी आयोन, नेटा भि, एक्सपेङ, अवतार, रिडारा आरडी, स्मार्ट, दायुन, हल्का कमर्सियल गाडीमा केवाईसी, किङलङ ब्रान्डका सवारीसाधन आयात गर्दै आएको छ। कम्पनीले चार पांग्रेसँगै दुईपांग्रे सवारीसाधन ब्रान्डमा हिरोको मोटरसाइकल तथा स्कुटर आयात तथा बिक्री गर्दै आएको छ। सिजी ग्रुपअन्तर्गत १० वटा ब्रान्ड छन्। कम्पनीले धेरै ब्रान्ड ल्याउँदा खासै राम्रो बिक्री भने गर्न सकेको छैन।
एमएडब्लू ग्रुपअन्तर्गतका ब्रान्ड

एमएडब्लु वृद्धिले अमेरिकी ब्राण्ड जीप, युरोपियन ब्राण्ड स्कोडा र चिनियाँ ब्राण्ड फोटोन, सोकोन, सेरेस, नामी, चांगन डिपल बिक्री गर्दै आएको छ। साथै, दुईपांग्रे ब्रान्ड यामाहा मोटरसाइकल तथा स्कुटर आयात तथा बिक्री गर्दै आएको छ। कम्पनीले धमाधम एकपछि अर्काे ब्रान्ड ल्याउनाले सबैभन्दा पहिले ल्याएको सेरेस ब्रान्ड भने ओझेलमा परेको देखिन्छ।
विशाल ग्रुप अन्तर्गतका ब्रान्ड

नेपालको आयात व्यापारमा अग्रणी समूहको परिचय बनाएको विशाल ग्रुपले सवारीसाधन त्यसमा पनि चारपांग्रे आयातमा थुप्रै ब्रान्ड ओगट्न सफल भएको छ। कम्पनीले फक्सवागन, माज्दा, रेनो, ग्रेटवाल, वुलिङ, एमजीलगायतका ब्रान्ड आयात गर्दै आएको छ। साथै, विशाल ग्रुपले दुईपांग्रे ब्राण्ड सुजुकी बिक्री गर्दै आएको छ। कम्पनीले भियतनामी ब्रान्डको भिनफाष्ट पनि ल्याउने तयारी गरेको छ। विशाल ग्रुपले धेरै ब्रान्ड आयात गर्दा पछिल्लो सयम भित्रिएका ग्रेटवाल मोटर्सको ओरा र वुलिङ भने ओझेलमा परेको देखिन्छ।
शारडा ग्रुपअन्तर्गत ब्रान्ड
सुरूमा डाट्सन र त्यसपछि निसान ब्राण्डका गाडी बिक्री गर्दै आएको शारडा ग्रुपले अहिले जिकर एक्स, ओमोडा, जेको जे सिक्स ब्राण्ड आयात तथा बिक्री गर्दै आएको छ।
शारडा ग्रुपले ईभीमा जिकर एक्स, ओमोडा र जेको ल्याएको छ भने निसान ब्रान्ड आईसिई इन्जिन र ईभी दुवैमा उपलब्ध छ। कम्पनीले आईसिइ इन्जिनमा डाट्सन ब्रान्ड ल्याएको हो।
गोल्छा अर्गनाइजेसन

हाल नेपाली बजारमा गोल्छा अर्गनाइजेसनअन्तर्गत फोर्ड, सिट्रोन, काई, लिपमोट, र प्यूजो ब्रान्डका गाडी उपलब्ध रहेका छन्। साथै, दुई पांग्रेमा बजाज, केटीएम र ट्रायम्फजस्ता ब्राण्डको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसनभित्रै रहेको छ।
लक्ष्मी ग्रुप

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलमार्फत हुन्डाई गाडी आधिकारिक वितरको रुपमा बिक्री सुरु गरेको कम्पनी प्यासेन्जर कारमा अग्रणी रहेको छ। कम्पनीले लक्जरी ब्रान्ड बीएमडब्लु र चिनियाँ ब्रान्ड काई पनि नेपालमा बिक्री गरिरहेको छ।