काठमाडौं। पियोर इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक निष्कासन आईपीओ बिक्री खुलाएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँकेका स्थानीयलाई छुट्याएको छ।
यस्तै, सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
स्थानीयले कम्पनीको आईपीओमा चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिसम्म मागअनुसार आवेदन नपरे चैत २० गतेसम्म दिन सकिनेछ। स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत् उत्पादन केन्द्र तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन्।
यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। २० मेगावाट सौर्य ऊर्जा क्षमताको परियोजना लागत २ अर्ब २ करोड ६० लाख छ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।