काठमाडौं। ‘अमेरिका फस्र्ट’ नारा अगाडि सारेर विश्वका लोकतन्त्र मुलुकलाई चिढ्याइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी मेक्सिको, क्यानडा र विश्वको दोस्रो अर्थतन्त्र एसियाली मुलुक चीनमाथि आयात कर लगाउने अडानका कारण अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ।
राष्ट्रपति ट्रम्पले चीन, मेक्सिको र क्यानाडामाथि आयातकर लाग्ने पुष्टि गर्नासाथ अमेरिकी सेयर बजारमा गिरावट आएको हो । ट्रम्पको ट्यारिफ अडानका कारण अर्थव्यवस्थाको गति खलबलिने चिन्ताले औद्योगिक क्षेत्र (इन्डस्ट्रियल एभरेज) ६४९ अंक अर्थात् १.५ प्रतिशतले तल ओर्लिएको छ। यस्तै, नास्डाक कम्पोजिटमा २.६ प्रतिशतले गिरावट देखिएको छ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयातीत वस्तुमा २५ प्रतिशतसम्म आयात कर लागू गर्ने समयसीमा आइपुगेको जानकारी दिएलगत्तै अमेरिकी सेयरबजारमा पहिरो गएको हो।
ट्रम्पले तोकिएका मुलुकमाथि आजदेखि आयात कर लागू गर्ने घोषणा गरेका छन्। त्यसैको जवाफस्वरुप सेयर बजारमा गिरावट आएको हो। ट्रम्पले चिनियाँ सामान आयातमा अतिरिक्त १० प्रतिशत आयात कर लागू गरिने बताएका छन्।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘मेक्सिको, क्यानडाका लागि कुनै ठाउँ बाँकी छैन। तपाईंहरुलाई थाहा छ, ट्यारिफ पूर्ण रुपमा तय भइसकेको छ, जुन मंगलबारदेखि लागू हुनेछ।’
अब चीनबाट अमेरिका प्रवेश गर्ने सामानमा कम्तीमा पनि २० प्रतिशत शुल्क लाग्नेछ। राष्ट्रपति ट्रम्पको आयातमा थप कर लगाउने निर्णयविरुद्ध तीन वटै देशले अमेरिकाबाट निर्यात हुने सामानमा पनि सोही किसिमको कर लगाउने घोषणा गरेका छन्। यसले विश्व अर्थव्यवस्थालाई असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।–एजेन्सी