काठमाडौं। नेपाल राष्ट बैंकले सार्वजनिक पेटोलियम सवारीको कर्जा अनुपात पुरानै कायम गरेको छ। चालु वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा केन्द्रीय बैंकले सवारी साधन कर्जासम्बन्धी व्यवस्था परिवर्तन गरी कर्जा अनुपात ६० प्रतिशत कायम गर्ने उल्लेख गरेको थियो।
समीक्षामा उल्लेखित व्यवस्था कार्यान्यवन गर्न जारी परिपत्रमा राष्ट्र बैंकले यस्तो अनुपात सबै प्रकारको विद्युतीय सवारी सधार र पेटोलियममा व्यक्तिगततर्फको लागि मात्रै उक्त व्यवस्था लागू हुने उल्लेख गरेको छ।
जारी परिपत्रमा भनिएको छ ‘इजाजत पत्र प्राप्त संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने छ। क) सबै प्रयोजनका विद्युतीय सवारी साधन र ख) निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन।’
हालसम्म व्यक्तिगतका पेट्रोलियम पदार्थको सवारी साधानमा खरिदमा ५० प्रतिशत र विद्युतीयका सबै प्रकारका सवारीमा ८० प्रतिशतसम्म कर्जा अनुपात कायम गरिएको थियो। बैंकहरूले अबदेखि पेटोलियम पदार्थको व्यक्तिगत सवारी खरिदमा ६० प्रतिशत र सार्वजनिक, ढुवानीका सवारी तथा संस्थाका नाममा खरिद हुने सवारी साधानमा ८० प्रतिशत वा धितो मूल्यांकनको आधारमा कर्जा प्रवाह गर्न सक्ने छन्।
विद्युतीयतर्फ भने व्यक्तिगत, सार्वजनिक तथा ढुवानी र संस्थाको नाममा खरिद हुने सवारी साधानमा भने ६० प्रतिशत मात्रै कर्जा दिन पाउने छन्।
यस्तै, राष्ट्र बैंकले हालसम्म रहेको असल कर्जाको १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) मौद्रिक नीतिको समीक्षामार्फत् १ प्रतिशत गर्ने उल्लेख गरेको थियो। जारी परिपत्रअनुसार अबदेखि बैंकहरूले सबै प्रकारका असल कर्जाको प्रोभिजन १ प्रतिशत गर्नुपर्ने छ।
ग्रेस अवधिका कर्जामा भने वर्गीकरण गरी असल कर्जा प्रोभिजन गर्नु पर्नेछ। परिपत्रअनुुसार एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित असल कर्जाहरूको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ।
उदाहरणको लागि कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाका लागि पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत, तेश्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्षदेखि १ प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ।