काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक बन्न अहिले निगम भित्रै चार जना आकाँक्षीहरुले दौडधुप सुरु गरेका छन । निगममा लामो समय काम गरेर अनुभव बटुलिसकेका पूर्वअपरेशन डाइरेक्टरहरु सुवास रिजाल र रवीन्द्रकुमार शेरचन, कमर्शियल डाइरेक्टर टंकनिधि दाहाल र उपनिर्देशक करिश्मा श्रेष्ठ महाप्रवन्धकको दौडमा छन ।
कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निगममा कार्यकारी अध्यक्ष नरहने र कार्यकारी अधिकार सहित महाप्रवन्धक नियुक्ती गर्ने बताएका थिए ।
मन्त्रीको भनाइ लगत्तै निगमभित्र महाप्रवन्धकको लागि दौड सुरु गरेका हुन । उनिहरु अहिले महाप्रबन्धक बनाइदिन भन्दै विभिन्न शक्ति केन्द्रमा धाइरहेका छन् ।
खरेलले माघ ५ गते राजीनामा दिएका हुन । राजीनामा दिएको २४ दिन बितिसक्दा समेत निगमले महाप्रवन्धक पाउन सकेको छैन । महाप्रवन्धक बन्न धेरैको आकाँक्षा देखिएको र पर्यटन मन्त्रीले योग्य व्यक्ति नपाएकै कारण अहिलेसम्म निर्णयमा पुग्न नसकिएको स्रोतको दाबी छ ।
मन्त्री निकट स्रोतका अनुसार अहिले निगम भित्र देखिएका चार जना अनुहारसँग मन्त्री भट्टराई सन्तुष्ट छैनन । ‘उपयुक्त व्यक्तिको खोजिमा मन्त्रीज्यू हुनुहुन्छ, स्रोतले क्यापिटल नेपाललाई भन्यो, उहाँ सकेसम्म निगम बाहिरबाट महाप्रवन्धकमा ल्याउन तयारीमा हुनुहुन्छ’ ।
अहिले निगम सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई तोकिएको छ । कार्यकारी अध्यक्ष भएर खरेल आउनुअघि पर्यटन सचिव नै बोर्डको अध्यक्ष हुने प्रचलन थियो ।
पर्यटन मन्त्री नियुक्त भएलगत्तै मन्त्री भट्टराईले वा ! नेपाल एयरलाइन्स भन्ने बनाउने घोषणा गरेका थिए । त्यसको केहि दिनमै निगममा भएको एक कार्यक्रममा तत्कालिन कार्यकारी अध्यक्ष खरेललाई बाटो खुला गर्न अनुरोध गरेका थिए । मन्त्री भट्टराईको पटक पटकको दबाबलाई सहन नसकेरै खरेलले राजीनामा बुझाएका थिए ।
३१ वर्ष निगममा बिताएका खरेल दोस्रो पटक पनि असफल भएर बाहिरिएपछि मन्त्री भट्टराईलाई निगम सञ्चालनको योग्य व्यक्ति खोज्न निकै सकस भएको छ । लामो समय अनुभव लिएकै व्यक्ति पटक पटक असफल हुनुमा निगम भित्रको गुटलाई पनि लिन सकिन्छ । त्यहाँ विभिन्न क्षेत्रमा गुट क्रियाशील छन ।
आफु अनुकुल कार्यलय प्रमुखले काम नगरेपछि उनिहरु विभिन्न प्रचारबाजीमा सक्रिय हुने गरेको स्रोतको दाबी छ । ‘चार वर्षको नियुक्ती पाएका खरेल १४ महिनामै राजीनामा दिनुको मुख्य कारण गुट पनि हो, स्रोतले भन्यो, जो आएपनि गुट नभत्काएसम्म निगम सुधार्न मुस्किल छ’।
निगममा अपरेशन, ईन्जिनियरिङ र प्रशासनमा छुट्टाछुट्टै गुट सक्रिय छ । ती गुटले आफु अनुकुल काम गर्न कार्यालय प्रमुखलाई दबाब दिने गर्छन् । काम नभएमा ती कार्यालय प्रमुखलाई असफल बनाउन सक्रिय भएर लाग्छन । त्यसैले यस विषयमा पनि पर्यटन मन्त्री भट्टराईले विषेश अपरेशन गर्न आवश्यक रहेको निगमका एक अधिकारीको भनाइ छ ।