काठमाडौं। हिमालय एयरलाइन्सले पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच नँया साप्ताहिक उडान सुरु गरेको छ। एयरलाइन्सले ३१ मार्चदेखि नँया रुटको उडान सुरु गर्ने भएको हो।
नयाँ रुटको उडानमार्फत हिमालय एयरलाइन्स र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ। काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न र मागको आधारमा थप गर्ने योजनासहित अहिले हप्तामा एउटा उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ।
पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ बिहान साढे ८ काठमाडौं–ल्हासा उडान भर्ने एयरलाइन्सले जानकारी दिएको छ। सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने एयरलाइन्सको भनाइ छ।
एयरलाइन्सका अनुसार ल्हासा–पोखरा उडान ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ दिउँसो १ः १५ बजे ल्हासा–पोखराका लागि उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्ने छ।
यसैगरी ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने छ। ल्हासा–काठमाडौं उडानले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः०५ मा काठमाडौं अवतरण गर्ने छ।
आफ्ना यात्रुलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै हिमालय एयरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा ल्याउने बताए।
हिमालय एयरलाइन्सले यात्रा गर्न चाहनेहरुले अधिकारिक ट्राभल पार्टनरका साथै एयरलाइन्सको आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेसनबाट पनि काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं उडानको टिकट बुक गर्न सक्ने बताएको छ।