काठमाडौं। लगातार नौ कारोबार दिनको वृद्धिपछि सेयर बजारमा करेक्सन आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा सीमित भएको हो।
आज सुरुवाती चरणमा उकालो लागेको नेप्से ११ बजेर ४ मिनेटमा २९२९ बिन्दुसम्म पुगेको थियो। त्यसपछि भने बजार घट्दै २८६७.६७ को न्यून बिन्दुसम्म झरेको थियो।
यसअघिका नौ कारोबार दिन भने नेप्से लगातार बढेको थियो। फागुन १ मा २६७८.४७ बिन्दुमा रहेको नेप्से नौ कारोबार दिन लगातार बढ्दै २१२ अंकको वृद्धिका साथ अघिल्लो कारोबार दिन आइतबार (फागुन १९)मा २८९०.२८ बिन्दुमा पुगेको थियो।
अघिल्लो कारोबार दिन आइतबार मात्रै नेप्से ७५.२४ अंकले बढेको थियो भने गत साताको बिहीबार ४९.१५ अंकले उकालो लागेको थियो। तर, सोमबार भने नेप्सेमा दोहोरो अंकको करेक्सन आएको हो।
सोमबार नेप्सेमा कुल १४ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने कुल १४ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ९.४५ प्रतिशतले उकालो लागेको छ। समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य १.३५ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, लघुवित्त समूहको ०.८८ प्रतिशत, जलविद्युत् समूहको १.२१ प्रतिशत र लगानी समूहको सेयर मूल्य ०.२४ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य ०.७७ प्रतिशतले बढ्दा उत्पादन समूहको ०.२५ प्रतिशत र निर्जीवन बिमा समूहको ०.४६ प्रतिशतले बढेको छ।