काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले पार्टीलाई बलियो बनाउने र आगामी रणनीति तय गर्न आजदेखि रुपन्देहीको भैरहवामा तीनदिने प्रशिक्षण चलाउँदै छ। कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भैरहवामा राष्ट्रिय स्तरको दुई दिने प्रशिक्षण कार्यक्रम गरिन लागेको हो।
प्रशिक्षणमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ। यसका लागि देउवा अहिले बिहानको उडानबाट भैरहवा जाँदै छन्।
तर, पार्टीलाई बलियो बनाउने प्रशिक्षण भनिए पनि कांग्रेस इतर समूहका वरिष्ठ नेता शेखर कोइराला भने अनुपस्थित हुने भएका छन्। यसअघि कांग्रेसले माघ २२ र २३ मा प्रतिष्ठानकै आयोजनामा पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिको भेला गरेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो।
पोखरा भेलामा कोइरालालाई निम्तो नदिइपछि कांग्रेसभित्र देउवा–शेखर सम्बन्ध ननिको रहेको ठानिएको छ। यस्तो बेला आज हुने प्रशिक्षण वहिष्कार गरेर कोइरालाले विराटनगर गोल्डकपका लागि मोरङ जाने भएका हुन्। यसको अर्थ प्रशिक्षण वहिष्कार गर्नु नै हो। यद्यपि यसपटक शेखरसहितका नेतालाई प्रशिक्षणमा निम्ताइएको छ।
कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार चार दिनअघि पार्टी मुख्यालय सानेपाका एक कर्मचारीले टेलिफोन गरेर कार्यक्रमबारे जानकारी गराउँदै सहभागिताका लागि निम्तो दिएका थिए। शेखरको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेकाले विराटगोल्डकपको उद्घाटन कार्यक्रमका लागि भैरहवा जानुका सट्टा विराटनगर जाने निश्चित भएको हो।
आजदेखि सुरु हुने कांग्रेस भेलामा देशभरका १६५ क्षेत्रीय सभापतिले सहभागिता जनाउनेछन््। पहिलो आज सभापति देउवाले प्रशिक्षण उद्घाटन गर्नेछन्।
नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवं उपसभापति पूर्णबहादुर खड्काका अनुसार सोमबार र मंगलबार हुने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिसमेत गरेर ३३० भन्दा बढी नेता कार्यकर्ता भैरहवा पुगेका छन्।
प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ। प्रशिक्षणका लागि महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा गृहमन्त्री रमेश लेखक भैरहवा पुग्दै छन्।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने कांग्रेस मुख्यालयले जनाएको छ।