काठमाडौं। सेयर लगानीकर्ताले हकप्रद (राइट सेयर) बिक्रीमा संस्थापक (प्रमोटर) र सर्वसाधारणका लागि समान व्यवस्था गर्न आवश्यक भएको बताएका छन्। अहिले कुनै कम्पनीले निष्कासन गरेको हकप्रद बिक्री नभएमा सर्वसारणतर्फको एकैपटकमा लिलामीमा जाने गर्दछ भने संस्थापकतर्फ भने दोस्रो पटक पनि खरिद मौका दिइने गरिन्छ।
एउटै कम्पनीको राइट सेयरमा संस्थापकतर्फ दुई पटक खरिद मौका र सर्वसाधारणतर्फ भने एकपटक मात्रै खरिद मौका दिने कार्य भइरहेको छ। यसर्थ, संस्थापकको जस्तै सर्वसाधारणतर्फ जारी हुने हकप्रदमा पनि पहिलोपटक बिक्री नभए दोस्रो मौका दिइनुपर्ने र त्यसपछि पनि बिक्री नभए मात्रै लिलामीमा लैजानुपर्ने आवाज उठेको हो।
नेप्सेमा सूचीकृत कम्पनीहरूले चुक्ता पूँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने गर्छन्। यसका लागि कम्पनीहरूले साधारणसभाबाट हकप्रद जारीको प्रस्ताव पारित गरी सेबोनमा निवेदन दिन्छन्। उक्त प्रस्तावलाई सेबोनले अनुमति दिएपछि कम्पनीले सेयरधनीका लागि हकप्रद निष्कासन गर्ने गर्दछन्।
कम्पनीहरूले पहिलोपटक निश्चित दिनका लागि हकप्रद सेयर बिक्रीमा राख्छन्। त्यसबीच सम्पूर्ण हकप्रद बिक्री नभए बिकेको जति सेयर बाँडफाँट गरी त्यसको सात दिनमा थप १५ दिनको अवधि राखेर बाँकी हकप्रदका लागि आवेदन खुला राख्न सक्ने व्यवस्था छ।
थपिएको उक्त अवधिमा पनि सबै कित्ता सेयर नबिके सेबोनलाई जानकारी गराएर कम्पनीले पुनः सात दिनका लागि शिलबन्दी बोलकबोलमार्फत हकप्रद सेयर बिक्री गर्न सक्ने व्यवस्था छ। यस व्यवस्थाअनुसार संस्थापकतर्फ निष्कासन भएको हकप्रद पहिलोपटक बिक्री नभएमा दोस्रो पटक पनि खरिद हाव्हान गरिन्छ। दोस्रोपटक पनि बिक्री नभएमा मात्रै लिलामिमा लगिन्छ।
कम्पनी ऐन र धितोपत्र सम्बन्धी ऐनमा समान व्यवस्था रहेपनि व्यवहारमा भने संस्थापकले पुनः हकप्रद सेयर खरिद गर्न पाउने र सर्वसाधारणतर्फ नपाउने गरिएको लगानीकर्ताको भनाइ छ।
तर, सर्वसाधारणका लागि निष्कासन गरिएको हकप्रदमा बिक्री नभएमा भने पहिलो पटक नै बोलकबोलमार्फत् लिलामिमा लैजाने कार्य हुँदै आएको छ। जसलाई संस्थापकको जस्तै समान बनाउनुपर्ने धारणा लगानीकर्ताले राख्दै आएका छन्। एउटै कम्पनीका सेयरधनीबीच फरक नीति अपनाइएकाले यसमा सुधार गर्नुपर्ने आवाज लगानीकर्ताले उठाइरहेका हुन्।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे हकप्रदमा संस्थापक र सर्वसाधारणका लागि समान व्यवहार गर्नुपर्ने बताउँछन्। ‘संस्थापकतर्फको हकप्रद निष्कासनमा बिक्री भएन भने फेरि, खुलाएर खरिद गर्ने मौका दिइन्छ। तर, सर्वसाधारणको हकमा भने बिक्री हुन बाँकी रहँदा पनि दोस्रो मौका दिइँदैन’, ࡆ अध्यक्ष रजौरे भन्छन्, ‘संस्थापकमा जस्तै सर्वसाधारणतर्फ पनि समान व्यवहार गर्नुपर्छ।’
उनले जानकारी नभएर, प्राविधिक कारण तथा अन्य कारण छुटेका व्यक्तिले हकप्रदमा पुनः आवेदन दिन सक्ने ठाउँ संस्थापकतर्फको जस्तै सर्वसाधारणतर्फ पनि राख्न आवश्यक भएको बताए। कम्पनी ऐन र धितोपत्र सम्बन्धी ऐनमा समान व्यवस्था रहेपनि व्यवहारमा भने संस्थापकले पुनः हकप्रद सेयर खरिद गर्न पाउने र सर्वसाधारणतर्फ नपाउने गरिएको लगानीकर्ताको भनाइ छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पनि संस्थापकलाई दिइएको सुविधाबाट सर्वसाधारणलाई बञ्चित गरिनु र एउटै कम्पनीका सेयरधनीबीच भिन्न व्यवहार हुनु उचित नभएको बताउँछन्। बाहिरी मुलुकमा पनि बिक्री नभएको हकप्रद सेयर कम्पनीका सम्बन्धित सेयरधनीबीचमैै निष्कासन गर्नुपर्ने प्रावधान रहेको र नेपालमा पनि नीतिमा समान भए पनि व्यवहारमा आउन नसकेको उनको धारणा छ।
‘बिक्री नभएको हकप्रद सेयर लिलामी बढाबढमा आउनु भन्दा अगाडि हकप्रदमा आवेदन दिँदा नै बढी सेयर आवेदन दिन पाउने व्यवस्था गरेमा राम्रो देखिन्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘यसका खतिरिक्त संस्थापकको जतिकै अधिकार सर्वसाधारणले पनि पाउने ग्यारेन्टी गरेर जान आवश्यक छ।’ उनले यी कुराहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायत नियामकसँग पटकपटक राखेको पनि जानकारी दिए।
धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनले धितोपत्रको हकप्रद निष्कासन सम्बन्धी व्यवस्था गरेको छ।
यस विषयमा बुझ्दा सेबोनका प्रवक्ता निरञ्जय घिमिरे विभिन्न निकायबाट प्राप्त सुझावलाई सेबोनले अध्ययन गरिरहेको बताउँछन्। ‘सेबोनले विभिन्न निकायबाट प्राप्त सुझाव र मागहरूलाई अध्ययन गरिरहेको छ। सबै सुझावका विषयमा अध्ययन गरी आवश्यक्ता र औचित्यका आधारमा बाँकी कुरा अगाडि बढ्छन्,’ घिमिरेले भने।
धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनले धितोपत्रको हकप्रद निष्कासन सम्बन्धी व्यवस्था गरेको छ। संगठित संस्थाले तोकेको मितिमा कायम रहेका सेयरधनीलाई धितोपत्र जारी गरी पुँजी बढाउने भएमा धितोपत्रको हकप्रद निष्कासन गर्न सक्ने व्यवस्था ऐनले गरेको हो।
ऐनमा संगठित संस्थाले यस नियमावलीबमोजिम धितोपत्रको हकप्रद निष्काशन गर्नु अगावै आफ्नो विवरण तयार गरी त्यस्तो संगठित संस्थाको सञ्चालक समितिको निर्णय सहित स्वीकृतिका लागि प्रशोधन शुल्क बुझाएको भौचर संलग्न गरी बोर्डसमक्ष निवेदन दिनुपर्छ। यसरी प्राप्त हुन आएको निवेदन तथा सो साथ संलग्न विवरण जाँचबुझ गर्दा विवरण स्वीकृत गर्न उपयुक्त देखिएमा सात कार्य दिन भित्र बोर्डले त्यस्तो विवरण स्वीकृतिपत्र प्रदान गर्नुपर्ने हुन्छ।
बोर्डबाट स्वीकृत विवरण धितोपत्रको हकप्रद निष्कासनको प्रयोजनको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने हुन्छ। हकप्रद निष्कासन खुला रहने अवधि कम्तीमा ३५ दिनका हुन्छ। यस अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले सूचना प्रकाशन गरी बढीमा थप १५ दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र त्यस्तो सूचना प्रकाशन गर्नुअगावै सोको जानकारी बोर्डलाई दिनुपर्ने हुन्छ।
नियमावली बमोजिम बिक्री गरिने हकप्रद सेयर त्यस्तो सेयरको बिक्री बन्द भएको मितिले बढीमा ३० दिनभित्र बाँडफाँट गरी सम्बन्धित लगानीकर्तालाई बाँडफाँट पत्र र फिर्ता भुक्तानी दिनुपर्ने हुन्छ।
ऐनमा हकप्रद सेयर बिक्रीका लागि खुल्ला गरिएको अवधिभित्र सम्पूर्ण सेयर बिक्री हुन नसकी बाँकी रहन गएमा त्यसरी बाँकी रहेको सेयर सम्बन्धित संगठित संस्थाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रकृया अवलम्बन गरी बिक्री गर्नसक्ने व्यवस्था गरेको छ। नियमावली बमोजिम बिक्री गरिने हकप्रद सेयर त्यस्तो सेयरको बिक्री बन्द भएको मितिले बढीमा ३० दिनभित्र बाँडफाँट गरी सम्बन्धित लगानीकर्तालाई बाँडफाँट पत्र र फिर्ता भुक्तानी दिनुपर्ने हुन्छ।