काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्कृय कर्जा (एनपिएल)मा ५ प्रतिशतको सीमा खारेज गरेको छ। केन्द्रीय बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण र आफ्नो लगानीमा दिँदै आएको दोहोरो नीति संशोधन गरेर ८ प्रतिशत कायम गरेको हो।
फागुन १८ गते लगानी सूचना जारी गर्दै राष्ट्र बैंकले मुद्दतीमा लगानी गर्नका लागि ८ प्रतिशत कूल एनपिएल र ३ प्रतिशत खुद एनपिएल हुनुपर्ने उल्लेख गर्दै पुरानो एनपिएल नीति खारेज गरेको हो। राष्ट्र बैंक वित्त व्यवस्थापन विभागद्वारा जारी गरिएको ४ अर्ब ७९ लाख रुपैयाँ मुद्दती खातामा लगानी गर्न बैंकका लागि एनपिएलमा नयाँ शर्त राखेको हो।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा लगानी गर्दा ५ प्रतिशत एनपिएल अनुपातको शर्त राख्दै आएको थियो। एनपिएल ५ प्रतिशतभन्दा माथि भएको बैंकमा निक्षेप राख्दा जोखिममा जाने ठहर गर्दै नियामकले मुद्दतीमा लगानी गर्दा शर्त राखेको हो। तर, बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणलाई निक्षेप राख्नका लागि भने राष्ट्र बैंकले ३ वर्षअघि एनपिलको आधारमा लगानी जोखिम मूल्यांकन आधार नीति खारेज गर्न गरेको थियो।
राष्ट्र बैंकले २०६३ सालमा बासेल २ लागू गरेपछि एनपिएल ५ प्रतिशतभन्दा तल भए राम्रो मान्दै सोहीअनुसारको सीमा निर्धारण गरेको थियो। त्यसयता बैंकले एनपिएललाई ५ प्रतिशत तल राख्न प्रयास गर्दै कर्जा विस्तार गरी सोहीअनुसार असुलीमा ध्यान दिइरहेका थिए।
उक्त समय तोकिएको पुँजी कोष कम हुँदा र खराब कर्जा सीमामाथि हुने बैंकलाई नियामकले शीघ्र सुधारात्मक कारबाही ‘प्रोम्प्ट करेटिभ एक्सन–पिसिए लगाउँथ्यो। राष्ट्र बैंकले ३ वर्षअघिसम्म बैंकहरूलाई पिसिए लगाउने गरेको थियो।
जसमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिने नियामकीय सहुलियतसमेत सुधार नहुँदासम्मलाई रोक्ने गरेको थियो। नियामकले गर्ने यस्तो कारवाही मूल्यांकनमा सर्वसाधारणले आफ्नो पैसा मुद्दतीमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था छनौट गर्ने गरेका थिए। तर, राष्ट्र बैंकले कोभिड कालपछि र अघिल्लो वर्षदेखि समग्र अर्थतन्त्रमा छाएको आर्थिक मन्दीको प्रभावमा बैंकहरुको कर्जा असुली प्रभावित भएको र एनपिएल बढेको भन्दै पिसिए लगाउने व्यवस्था हटाएको थियो।
तर, राष्ट्र बैंकले आफ्नो पैसा बैंकको मुद्दतीमा राख्दा भने बोलकबोल आह्वान गरी भाग लिने बैंकहरुको एनपिएल ५ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त हटाएको थिएन। अघिल्लो वर्षदेखि नै केही विकास बैंक र वित्त कम्पनीहरुको एनपिएल ५ प्रतिशतमाथि पुगेको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ४ वटाको एनपिएल एनपिएल ५ प्रतिशतमाथि ७ प्रतिशत नजिक पुगेको छ। बैंकहरुको एनपिएलको ग्राफ उकालो लाग्दै गएपछि आफ्नो लगानी नीति संशोधन गरेको हो।
चालु वर्षको दोस्रो त्रैमासमा ११ वटा वाणिज्य बैंकको एनपिएल साढे ४ प्रतिशतमाथि छ। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको एनपिएलको ग्राफ बढेर ५ प्रतिशतमाथि पुग्न थालेपछि राष्ट्र बैंकले आन्तरिक लगानीको शर्तबाट एनपिएलको ५ प्रतिशत नीति संशोधन गरेर ८ प्रतिशतसम्म एनपिएल भएको बैंकलाई जोखिम नभएको बैंक ठहर गरेको हो।