काठमाडौं। शिशिर ऋतु सुरु भएसँगै विदेशी पर्यटकको आउने क्रम बढ्दो छ। हिमाली क्षेत्रमा यात्रा गर्न आउने पर्यटकका लागि यो समय उपयुक्त मानिन्छ।
धेरै पर्यटक हिमाली क्षेत्रमा ट्रेकिङका लागि आउने गरेका छन्। पर्यटकका लागि शिशिर ऋतु सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको चाप बढ्ने गरेको छ। तर, विगतको तुलनामा यो वर्ष बुकिङ गर्नेको संख्या न्यून रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल १० घण्टा बन्द, हवाई भाडा अत्याधिक महंगो र अन्तर्राष्ट्रिय रुपमै जारी आर्थिक मन्दिको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पुग्दा गत वर्षको तुलनामा बुकिङ कम भएको ट्रेकिङ एजेन्सी अफ नेपाल(टान)का पूर्व अध्यक्ष खुम सुवेदीले बताए।
विदेशबाट नेपाल आउने हवाई भाडा अत्याधिक महंगो भएकाले घुम्न चाहनेहरु अन्य मुलुकमा जान थालेपछि विगतको तुलनामा यो वर्ष कम बुकिङ भइरहेको उनको भनाइ छ।
‘सिजन भरखरै सुरु भएकोले बीचमा बढ्छ कि भन्ने आश रहेको छ,’ पूर्व अध्यक्ष सुवेदीले भने, ‘तर इन्क्वारीनै कम भएकोले धेरै बढ्ने अपेक्षा गर्न सकिदैन।’
हिमाल आरोहणमा आउनेहरुको संख्या विगतको तुलनामा अहिलेसम्म न्यून रहेको हिमाल आरोही पासाङ शेर्पाले जानकारी दिए। ‘गत वर्षको तुलनामा यो वर्षबाट हिमाल आरोहणको रोयल्टी समेत बढाएको प्रभाव विदेशीलाई परेको छ,’ हिमाल आरोही शेर्पाले भने, ‘प्रतिस्पर्धा पनि धेरै बढेको छ, यो सिजन खासै उत्साहमुलक छैन।’
सगरमाथा क्षेत्रमा यात्रा गर्न यो सिजनमा सबैभन्दा बढी अमेरिकन, अस्ट्रेलिन र युरोपियनहरुनै आउने गरेको जनाइएको छ। तारा एयरका प्रवक्ता राप्के टी शेर्पाले गत वर्षको तुलनामा यो वर्ष हवाई टिकट बुकिङ निरासाजनक रहेको बताए। ‘हुन त भरखरै सिजन सुरु भएको छ,’ प्रवक्ता शेर्पाले भने, ‘विगतको तुलनामा बुकिङ न्यून छ।’
सगरमाथाको प्रवेशद्धारको रुपमा परिचित लुक्लामा शनिबारबाट उडान सुरु भएको छ। अप्रिलको अन्तिमसातासम्म दैनिक १२ देखि १५ वटासम्म उडान हुन्छ। शनिबार र आइतबार दैनिक १३/१३ उडान गरेको छ। ताराले शनिबार र आइतबार गरी १२, सिताले ८ र समिटले ६ उडान गरेको छ।
मार्च ३ बाट जोमसोम र २१ मा मन्थलीबाट उडान
मार्च २१ बाट मन्थली विमानस्थलबाट लुक्ला उडान सुरु हुने छ। हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइरहेको बेला मार्च २१(चैत ८)देखि मन्थली विमानस्थलबाट उडान गर्ने तयारी थालिएको प्रवक्ता शेर्पाले बताए। यस्तै ताराले मार्च ३( फागुन १९)बाट पोखरा‑जोमसोम उडान गर्ने जनाएको छ।
खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान अनिश्चित
पर्यटकीय सिजन सुरु भएपनि खुम्बु क्षेत्रमा हेलिकोप्टरको उडान अझै सुरु भएको छैन। खुम्बु पासाङल्हमु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यवसायीक उडानमा रोक लगाएसँगै केहि महिनादेखि नियमित उडान हुन सकेको छैन। ‘अहिलेसम्म व्यवसायीक उडानका लागि गाउँपालिकाले अनुमति दिएको छैन,’ एक हेलिकोप्टर व्यवसायीले भने, ‘यो सिजनमा उडान गर्न नपाए हाम्रो ब्यालेन्ससिट नै विग्रिन्छ।’