काठमाडौं। सेयर बजारमा ठूलो अंकको सुधार आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सहज नीति अपनाएपछि बजारमा रौनक देखिएको हो।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा पुगेको थियो। यसअघिका सात कारोबार दिन पनि नेप्से उकालो लागेको थियो।
आइतबार नेप्सेमा कुल १४ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार हिमालयन डिस्टलरी, गार्डियन माइक्रोलाइफ, नेपाल इन्स्योयरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, न्यादी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर मूल्यमा नौ प्रतिशत बढीको वृद्धि आएको छ।
बजारमा उच्च अंकको वृद्धिका बाबजुद समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
आइतबार बैंकिङ समूहको सेयर मूल्य २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशत, फाइनान्स समूहको ४.२ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.१४ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य १.९८ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहमा ३.०३ प्रतिशत, जीवन बिमा समूहमा ४.३१ प्रतिशत, उत्पादन समूहमा ४.७९ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, निर्जीवन बिमा समूहमा ३.४१ प्रतिशत र व्यापार समूहमा १.०६ प्रतिशतको सुधार आएको छ।