काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दाबी गरेका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी)को दीक्षान्त कवाज कार्यक्रममलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रछात्रालाई शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले अरुलाई छिर्के लगाएर नभइ स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियोे। सो अवसरमा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटका प्रमण्डलको पनि सहभागिता थियो।
युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ २०२२ मा स्थापित सो सेवा दलले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ।
यस आर्थिक वर्षमा सो सेवा दलमा ७ हजार ७ सय चार छात्रछात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य लिइएको छ। हालसम्म ८२ हजार एक सय ८४ व्यक्ति यस सेवा दलबाट दीक्षित भइसकेको बताइएको छ।