काठमाडौं। नेपाली बिमा बजारमा कृषि तथा पशुपन्छी बिमाका उत्पादन थपिने क्रमले तीव्रता पाइरहेको छ। कृषि तथा पशुपन्छी बिमा गर्नुपर्ने आवाज उठ्दै जाँदा बिमा कम्पनीले आफूले बिक्री गर्ने बिमा पोलिसी (प्रोडक्ट) बढाउने क्रमलाई निरन्तर जारी राखेका छन्।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कृषि तथा पशुपन्छी बिमाअन्तर्गत २१ वटा बाली, ७ वटा पशुपन्छी र २ वटा जडिबुटी गरी जम्मा ३० किसिमका बिमालेख जारी भएका थिए।
२०८१ पुस मसान्तसम्मको तथ्यांक हेर्दा हाल बिमा कम्पनीले कृषिअन्तर्गत टिमुर खेती, मेन्था खेती, आँप खेती, ओखर खेती, आलु खेती बिमालेख, च्याउ खेती, कागती, सुन्तला र जुनार खेतीको बिमालेख बिक्री गरिरहेका छन्।
उखु बिमालेख, केरा खेती बिमालेख, चिया खेती बिमालेख, कफीखेती बिमालेखको साथमा यसै वर्ष थपिएका अदुवा खेती बिमालेख, अलौंची खेती बिमालेख, बेसार खेती बिमालेख, बङगुर बिमालेख पनि उपलब्ध छन्।
कृषकको मागसमेतका आधारमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा पशु सेवा विभागसमेतको प्राविधिक सहयोगमा विभिन्न बिमालेख जारी गर्दै आएको छ।
खासगरी, बिमा प्राधिकरणबाट वि.सं. २०६९ साल माघ १ गतेबाट बाली, पशुपन्छी तथा अन्य गरी चार किसिमका बिमालेख जारी गरी औपचारिक रूपमा कृषि तथा पशुपन्छी बिमाको सुरूवात गरीएको थियो। बाली तथा पशुपन्छी बिमा निर्देशन, २०६९ जारी गर्दा जम्मा चार वटा बिमालेख जारी गरिएकोमा त्यसपछि बिमालेखको संख्यामा उल्लेख्य रुपमा वृद्धि हुँदै आएको छ। विगतमा लागत आधारित बिमालेख जारी गर्ने गरेकोमा हाल उत्पादनमा आधारित बीमालेख जारी गर्ने कार्य पनि गरिएको छ।
कृषकको मागसमेतका आधारमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा पशु सेवा विभागसमेतको प्राविधिक सहयोगमा विभिन्न बिमालेख जारी गर्दै आएको छ। सरकारले २०६९ माघ १ बाट कृषि तथा पशुपन्छी बिमाको बिमा शुल्कमा ५० प्रतिशत छुट अनुदानको व्यवस्था गरेको थियो। खासगरी, कृषि तथा पशुपन्छी बिमातर्फ कृषकहरु आकर्षित हुन् र सम्भावित क्षति न्यूनीकरण होस् भन्ने उद्देश्यले सरकारले यस्तो नीति ल्याएको थियो।
यसबाट विस्तारै कृषि तथा पशुपन्छी बिमा विस्तार हुँदै गयो। सरकारले २०७१ साउन १ बाट ५० प्रतिशतको अनुदानलाई बढाएर ७५ प्रतिशत पुर्यायो। यसपछि सरकारले २०७८/७९ को प्रतिस्थापन बजेट पेस गर्दै कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशत अनुदान दिने घोषणा गर्यो।
जसअनुसार हाल पनि कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशत अनुदान पाउने व्यवस्था छ। कृषि तथा पशुपन्छी बिमामा सहुलियत प्रदान गर्दै जाँदा २०८० फागुन १८ गते प्राधिकरणले ‘खाद्यान्न बाली बिमालेख’को मस्यौदा सार्वजनिक गरेको थियो। प्राधिकरणले खाद्यान्न बालीभित्र धान, मकै, गहुँ, जौ र कोदो समेटेको छ।
२०७९ पुस १ मा टिमुर खेती तथा मेन्था खेती बिमालेख, २०७८ कात्तिक २९ मा कफी खेती बिमालेख, २०७८ फागुन २७ मा ड्रागन फल खेती तथा किवी खेती बिमालेख मस्यौदा सार्वजनिक गरेको प्राधिकरणले २०७९ साउनबाट लागू हुने गरी कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ असार अन्तिममा जारी गरेको थियो। प्राधिकरणका अनुसार लागतमा आधारित बिमालेखअन्तर्गत तरकारी, च्याउ, धानबाली, आलु, फलफूल, मौरी तथा अलैंची खेती पर्छन्।
कृषि तथा पशुपन्छी बिमातर्फको प्राडक्ट थपिँदै जादाँ यसतर्फको बिमामा वृद्धि हुँदै गए पनि प्रयाप्त सुधार भने आएको देखिँदैन।
यस्तै, उत्पादनमा आधारित बीमालेखअन्तर्गत तरकारी, उखु, अन्नबीउ बाली, चैतेधान, अदुवा, बेसार, चिया, कफी, सुन्तला, जुनार तथा कागती खेती पर्छन्। यसका अतिरिक्त गोलभेँडा, काँक्रो, घिरौंला, करेला, फर्सी, जुकेनी, लौका, भिन्डी, सिमी, बोडी, काउली, बन्दा गरी ४९ प्रजातिका तरकारी बाली र चैतेधानको पनि उत्पादनका आधारमा बिमा हुने गरेको छ। त्यसैगरी पशुपन्छी तथा माछा बीमाअन्तर्गत पशुधन, बाख्रा, पन्छी, अस्ट्रिच, कालिज तथा माछा बीमालेख जारी हुँदै आएको छ।
प्रोडक्ट थपिँदा बिमामा देखिएन प्रयाप्त सुधार
कृषि तथा पशुपन्छी बिमातर्फको प्राडक्ट थपिँदै जादाँ यसतर्फको बिमामा वृद्धि हुँदै गए पनि प्रयाप्त सुधार भने आएको देखिँदैन। आर्थिक २०७२/७३ मा जम्मा ६ अर्ब ३ करोड बरारबरको बिमांक रकम रहेकोमा २०७३/७४ मा उक्त बीमांक रकममा ५३.१० प्रतिशतले वृद्धि भई ९ अर्ब २४ करोड रहेको देखिन्छ। यस्तै, आर्थिक वर्ष २०७४/७५ मा उक्त बीमांक रकममा ४३.०२ प्रतिशतले वृद्धि भई १३ अर्ब २२ करोड पुगेको देखिन्छ।
आर्थिक वर्ष २०७५/७६ मा ६७.१० प्रतिशतले वृद्धि हुँदै सो रकम २२ अर्ब ९ करोड, आर्थिक वर्ष २०७६/७७ मा २२ अर्ब ९ करोड ४९ लाख रहेकोमा २०७७/७८ मा १९.४० प्रतिशतले बृद्धि भई २६ अर्ब ३८ करोड पुग्यो। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा बिमांक रकममा ६३.३३ प्रतिशतले बृद्धि भई ४३ अर्ब ९ करोड पुग्यो। आर्थिक वर्ष २०७९/८० मा १.१८ प्रतिशतले कमी हुदाँ बिमांक रकम ४२ अर्ब ५७ करोड ७५ लाख पुगेको देखिन्छ। गत आर्थिक वर्ष २०८०/८१ मा भने बिमांक रकम १.०४ प्रतिशतले कम ४२ अर्ब १३ करोड ५४ लाखमा खुम्चिन पुग्यो।

गत आर्थिक वर्ष २०८०/८१ मा कृषि तथा पशुपन्छी बिमातर्फ जम्मा १ लाख ५६ हजार १२१ वटा बीमालेख जारी भई ४२ अर्ब १३ करोड बराबर बिमांक कायम गरी २ अर्ब २ करोड बराबरको बिमाशुल्क आर्जन भएको देखिन्छ। जसमध्ये नेपाल सरकारद्वारा प्रदान गरिने ८० प्रतिशतका दरले हुन आउने अनुदान रकम भने १ अर्ब ६१ करोड ७२ लाख बराबर रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा बिमकहरूबाट कृषि तथा पशुपन्छी बिमाअन्तर्गत १ अर्ब ५६ करोड ९१ लाख बराबरको रकम दाबीबापत भुक्तानी भएको छ। प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२को माघ मसान्तसम्मम जारी कुल कृषि तथा पशुपन्छी बिमा लेखको संख्या ८६ हजार ८२२ छ। माघसम्ममा ९६ करोड ४७ लाख रुपैयाँको बिमा शुल्क बिमा कम्पनीले प्राप्त गरेका छन्।