बागलुङ। विसं २०६७ मा बागलुङ नगरपालिका ५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक छन्।
बागलुङ ४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिने भएका छन्।
निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन्। बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक १६० लिटर दूध उत्पादन हुँदै आएको छ। सापकोटाले उत्पादन गरेको दूध आफैँ बजारीकरण गर्छन्।
'भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित १ करोड लगानी पुगिसक्यो”, उनले भने, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु।”
व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन्। उनको फार्ममा ५२ वटासम्म गाईभैँसी भएको सुनाए। उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन्। दैनिक दूध उत्पादनपश्चात बजारीकरण गर्दै आएका सापकोटा मासिक ५ लाखसम्मको आम्दानी गरी १ लाखसम्म बचत गर्दै आएको बताउँछन्।
पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ। पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ।
उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए। उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताएका थिए।