काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याएसँगै बैंकिङ समूह उकालो लाग्ने चर्चा भइरहेका छन्।
गत साता मंगलबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंकका लागि सकारात्मक नीति लिएसँगै बैंकिङ समूह उकालो लाग्ने चर्चा भइरहेका हुन्।
मौद्रिक नीति समीक्षाले असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको छ। जसले प्रोभिजन राख्नुपर्ने रकम कम भएपछि बैंक तथा वित्तीय संस्थाको नाफा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट बैंक तथा वित्तीय संस्थाको आम्दानीसँगै नाफा बढ्न जाने र सेयरधनीले पाउने लाभांश अनुपातसमेत वृद्धि हुने आंकलन भइरहेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सबैभन्दा ठूलो समूहको रुपमा रहेको बैंकिङ समूह उकालो लागेमा यसले समग्र इन्डेक्सलाई बढाउने छ। बैंकिङ समूहले बजारको सबैभन्दा धेरै हिस्सा ओगटेकाले यस समूहमा आउने घटबढको प्रभाव समग्र बजार सूचक र कारोबारमा देखिन्छ। यसर्थ, अब बैंकिङ समूह उकालो लागेमा बजार परिसूचक पनि माथिल्लो विन्दुमा पुग्ने विश्लेषण लगानीकताले गरिरहेका छन्।
‘बियरीस ट्रेन्डमा रहेको बजारलाई राम्रै किसिमका सकारात्मक खबरले पनि खासै प्रभाव पार्दैन। तर, अहिले बजार बुलिस ट्रेन्डमा रहेकाले सानो सानो सकारात्मक कुराले पनि इन्डेक्स माथिल्लो विन्दुमा पुर्याउन मद्दत गर्दछ,’ नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे भन्छन्, ‘बैंकिङ समूह उकालो नलागि नेप्से धेरै माथि पुग्न कठिन हुन्छ। मौद्रिक नीति समीक्षा यस क्षेत्रका लागि राम्रो आएकाले बजार माथिल्लो विन्दुमा पुग्न सक्दछ।’
जोखिमयुक्त कम्पनीको एक कित्ता लिएर बस्नुभन्दा त्यो कित्ता बिक्री गरेर राम्रै कम्पनीको सेयर किन्न सकिने अवस्था छ।
हुन त, पछिल्लो केही समययता बजारमा ट्रेडरहरू हाबी हुँदै आएका छन्। साना र लो क्याप भएका कम्पनीले बजारमा हालीमुहाली गर्दा लगानीकर्ताले जोखिम पनि उतिकै मात्रामा मोल्दै आएका छन्। जोखिमयुक्त कम्पनीमा लगानी गरेर राम्रै आम्दानी गरे पनि सधैँ यस्ता कम्पनीमा कति रहिरहनु भन्ने हेतुले लगानीकर्ताले हाइक्याप कम्पनीमा लगानी बढाउन सक्ने सम्भावना बढेको रजौरे बताउँछन्।
जोखिमयुक्त कम्पनीको एक कित्ता लिएर बस्नुभन्दा त्यो कित्ता बिक्री गरेर राम्रै कम्पनीको सेयर किन्न सकिने अवस्था छ। यसर्थ, मौद्रिक नीति समीक्षाले बैंकलाई राम्रो गरेकाले विस्तारै लो क्यापमा भएका लगानीकर्ता हाइक्यापमा आउन सक्ने बुझाई उनको छ।
मौद्रिक नीति समीक्षापछिको पहिलो कारोबार दिनमा बैंकमा राम्रो आकर्षण देखियो। गत साताको बिहीबार बैंकिङ समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ३.३२ प्रतिशतले बढ्यो। यदि, यो क्रमले निरन्तरता पाए बजार थप माथिल्लो विन्दुमा पुगेर बस्ने र कारोबारमा थप सुधार आउने आंकलन भइरहेका छन्।
मौद्रिक नीति समीक्षाले सेयर बजारलाई प्रत्येक्ष नसमेटेको भए पनि घुमाउरो ढंगमा फाइदा गर्ने किसिमले आएकाले बजार अब केही समय उकालो लाग्ने चर्चा भइरहेको छ। ‘बजारले माथिल्लो विन्दुमा चढ्नका लागि केही न केही कारण खोजिरहेको हुन्छ। मौद्रिक नीति समीक्षालाई कारक बनाएर नेप्से माथिल्लो विन्दुमा पुगेर बस्ने सम्भावना छ,’ रजौरे भन्छन्, ‘त्यसपछि फेरि बढ्नका लागि अर्को घटना वा खबर चाहिन सक्छ।’
समग्र स्थिति हेर्दा बजार उकालो लाग्ने सम्भावना बढी भएको तर्क उनको छ। यद्यपि, पछिल्लो दुई सातादेखि नेप्से लगातार उकालो लागिरहेकाले करेक्सन आउन सक्ने ठाउँ छ। करेक्सन आए धेरै तल नजाने तर्क लगानीकर्ता गर्छन्।
गत साता सेयर बजार ६ महिनापछि २८ सय विन्दुमाथि पुग्यो। यसअघि भदौ १७ गते २८३० विन्दुमा रहेर बन्द भएको नेप्से ६ महिनापछि २८ सय विन्दुमाथि पुग्न सफल भएको हो। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४९.१५ अंकले बढ्दै २८१५.०४ विन्दुमा कायम भयो।
पछिल्लो समय सेयर बजारसँग जोडेर बढी चर्चा गरिएको राष्ट्र बैंकको गभर्नरको विषयलाई लगानीकर्ताले नियालिरहेका छन्।
उक्त दिन नेप्से बढीमा २८२७ विन्दुसम्म पुग्दा कममा २७८५ विन्दुसम्म झरे पनि बन्द हुँदा २८१५ मा सीमित भएको हो। समग्रमा, गत साता नेप्से ७२ अंकले बढ्यो। अघिल्लो साता फागुन ८ मा २७४३ विन्दुमा रहेको नेप्से गत साताको चार कारोबार दिनमा ७२ अंकले बढ्दै २८१५ विन्दुमा पुगेको हो।
अघिल्लो साता पनि नेप्सेमा ६५ अंकको वृद्धि भएको थियो। फागुन १ गते २६७८.४७ विन्दुमा रहेको नेप्से चार कारोबार दिनमा ६५ अंकले बढेर बिहीबार फागुन ८ गते २७४३.७४ विन्दुमा रोकिएको थियो। पछिल्लो आठ कारोबार दिनदेखि नेप्से लगातार उकालो लागिरहेको छ। यसको दबाबले सामान्य करेक्सन ल्याउन सक्ने सम्भावना भए पनि बजार थप माथिल्लो विन्दुमा पुगेर बस्ने आंकलन लगानीकर्ताको छ।
पछिल्लो समय सेयर बजारसँग जोडेर बढी चर्चा गरिएको राष्ट्र बैंकको गभर्नरको विषयलाई लगानीकर्ताले नियालिरहेका छन्। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत २६ मा समाप्त हुँदै छ। यद्यपि, उनी एक महिना बिदा बस्न सक्ने भएकाले फागनु अन्तिमसम्म मात्रै रहने स्थिति छ।
अधिकारी बाहिरिएसँगै आगामी दिनमा कस्ता गभर्नर केन्द्रीय बैंकको नेतृत्वमा आउँछन् भन्ने विषयले बजारलाई निर्धारित गर्ने बताइन्छ। अधिकारीले गभर्नरका रुपमा कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा ल्याउँदा गरेका नीतिगत व्यवस्थाप्रति लगानीकर्ता सकारात्मक छन्।
सेयर धितो कर्जामा लगाइएको व्यक्तिगततर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा सय प्रतिशत जोखिमभार कायम गरिदिनुपर्ने लगायतका माग मौद्रिक नीति समीक्षामा नसमेटिएको भए पनि बजारका लागि राम्रो नीति आएको तर्क लगानीकर्ताको छ।
मौद्रिक नीति समीक्षालाई स्वागत गरेकाले बिहीबार नेप्सेले हाफ सेन्चुरी लगाउँदा करिब साढे ११ अर्ब हाराहारीको कारोबार भयो। गत साताको चार कारोबार दिनमै नेप्से ४३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भयो।
अघिल्लो साताको चार कारोबार दिनमा पनि नेप्सेमा कूल ३७ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबारले पनि राम्रै साथ दिइरहेको र नीतिगत रुपमा कठिनाइ नभएकाले बजार सकारात्मक हुने आंकलन लगानीकर्तामा देखिन्छ।