काठमाडौं। सङ्घीय सरकारले कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि कर्णालीका २१ पालिका छनोट गरी बजेट पठाएको छ। कर्णालीका मुगु,डोल्पा, हुम्ला, जुम्ला, कालीकोट,रुकुम पश्चिम,जाजरकोट जिल्लाका २१ पालिका छनोट गरेर बजेट पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनका अनुसार उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक,सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न २१ स्थानीय तहले बजेट पाएका हुन्।
सङ्घीय सरकारबाट प्राप्त उक्त बजेटलाई स्थानीय तहले छनोट गरेका पूर्वाधार,उद्यमशीलतादेखि सीप विकासका कार्यक्रममा खर्च गर्ने सर्तहरू तोकिएको पराजुलीले बताए। त्यस्तै स्थानीय तहले छनोट गरेका कृषि,पशुपालनसँगै पर्यटनका क्षेत्रमासमेत खर्च गर्ने उद्देश्य राखिएको छ।
मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वरोजगार तथा आर्थिक, सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न बजेट उपलब्ध गराउने गरी छनोट भएका आयोजना/कार्यक्रम तथा बजेटसहित स्थानीय तहको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिकामा दुईवटा तथा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, डोल्पो बुद्ध गाउँपालिका, काइके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा कार्यान्वयन हुने सात आयोजनाका लागि रकम सम्बन्धित पालिकामा पठाइएको मन्त्रालयका सहसचिव पराजुलीले जानकारी दिए।
उनका अनुसार हुम्लाका सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा पाँच, जुम्लाको सिञ्जा गाउँपालिकामा दुई, कालीकोटको तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा तीनवटा कार्यक्रमका लागि बजेट विनियोजन भएको छ।
यस्तै, रुकुम पश्चिमका मुसिकोट नगरपालिका,चौरजहारी नगरपालिका,बाँफिकोट गाउँपालिका र सानी भेरी गाउँपालिकामा छ वटा आयोजना कार्यान्वयन हुने छन्। जाजरकोटको छेडागाड नगरपालिका,नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा सात वटा कार्यक्रमका लागि सम्बन्धित पालिकामा बजेट पठाइएको मन्त्रालयले जनाएको छ। कर्णालीबाट छनोटमा परेका पालिकामा कार्यक्रम कार्यान्वयनका लागि सात करोड ४३ लाख बजेट विनियोजन गरिएको छ।